काडमाडौं । माल्दिभ्समा मार्च २३ देखि अप्रिल ४ सम्म हुने साफ यु–२० च्याम्पियनसिपका लागि नेपालले दोस्रो चरणको छनोटपछि ३० सदस्यीय टोली तयार पारेको छ ।
गत माघ २५ गते मुख्य प्रशिक्षक सनोज श्रेष्ठको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले पहिलो चरणको छनोटका लागि ८० खेलाडीलाई बोलाएको थियो । तीन दिनपछि दोस्रो चरणको छनोटका लागि ४० खेलाडी छानिएका थिए ।
बुधबार १४ दिनको प्रशिक्षणपछि १० खेलाडी बाहिरिएका हुन् । अब अन्तिम चरणको छनोटपछि थप ७ खेलाडी बाहिरिनेछन् ।
फाइनल चरणको छनोटमा कप्तान राम थापा भने अटाउन सकेनन् । राजधानीमा जारी एन्फा राष्ट्रिय लिगमा लालिगुँरास एसोसिएसन क्लबबाट खेलिरहेका रामले गत वर्ष साफ यु–१९ च्याम्पियनसिपमा क्याप्टेन आर्मब्यान्ड लगाएका थिए । उनीसँगै उनका भाई लछ्छु थापा पनि टोलीमा छैनन् । राम र लछ्छु दुबैसँग उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगिताको बाक्लो एक्सपोजर छ ।
समूह ‘ए’मा रहेको नेपालले उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४ः३० बजे हुनेछ । सोही दिन समूह ‘ए’ अन्तर्गतनै राति ९ः१५ बजे घरेलु टोलीले श्रीलंकासँग खेल्नेछ ।
सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’मा साबिक विजेता भारत, बंगलादेश र पाकिस्तान छन् । सिंगल राउन्ड रोविन लिगपछि प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
भुटानपछि नेपालले मार्च २५ मा श्रीलंका र २७ मा माल्दिभ्ससँग खेल्नेछ ।
माथिल्लो उमेर समूहको यो प्रतियोगितामा नेपालको टचलाइन लगातार तेस्रोपटक उर्जन श्रेष्ठले सम्हाल्दैछन् । यसअघि श्रेष्ठले सन् २०२४ मा घरेलु भूमिमा सम्पन्न छैटौं संस्करण अनि गत वर्ष भारतमा भएको सातौं संस्करणमा टोलीको नेतृत्व गरेका थिए ।
माथिल्लो उमेर समूहमा नेपाल दुईपटकको च्याम्पियन हो । काठमाडौंमा सम्पन्न पहिलो र थिम्पुमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि जितेको थियो । त्यसयता नेपाल एकपटक उपविजेता बनेको छ ।
दुई वर्षअघि श्रेष्ठको टोली बंगलादेशसँग फाइनलमा पराजित भएको थियो । सातदोबाटोमा भएको फाइनलमा नेपाल ४-१ ले निराश बनेको थियो ।

