काठमाडौं । रेलिगेसन क्षेत्रमा संघर्ष गरिररहेको टोटनहम हटस्पर्शले इङ्लिस प्रिमियर लिगमा लगातार पाँचौं हार बेहोरेको छ ।
बिहीबार मध्यराति टोटनहमले क्रिस्टल प्यालेससँग ३–१ को हार बेहोर्यो । टोटनहमले खेलको ३४औं मिनेटमा अग्रता लिएको थियो । फरवार्ड डोमिनिक सोलान्केले घरेलु टोलीलाई अग्रतामा ल्याएका थिए ।
प्यालेसले पहिलो हाफभित्र तीन गोल गर्दै खेल ३–१ को स्थितिमा पुर्यायो । निर्धारित हाफ सकिन अट्याकिङ मिडफिल्डर इस्माइला सारको पेनाल्टी गोलमार्फत प्यालेस खेलमा फर्कियो । त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमै फरवार्ड स्ट्रान्ड लार्सनले प्यालेसलाई अग्रतामा ल्याए । सातौं मिनेटमा सारले फेरि गोल गरे ।
हारसँगै टोटनहम पुछारबाट पाँचौं स्थानमा यथावत रह्यो । टोटनहमले २९ खेलमा २९ अंक जोडेको छ । टोटनहमलाई १८औं र १९औं स्थानको वेस्ट ह्याम र नटिङघम फोरेस्टले रेलिगेसनबाट बच्न पछ्याइरहेको छ । प्यालेस भने एक स्थान सुधार गर्दै १३औं स्थानमा उक्लियो । प्यालेसले ३८ अंक जोडेको छ ।
अब ३०औं चरणको खेलमा टोटनहमले लिभरपुलसँग खेल्नेछ । त्यस्तै प्यालेसको सामना लिड्स युनाइटेडसँग हुनेछ ।
