काठमाडौं । इङ्लिस प्रिमियर लिगमा बुधबार राति पाँच खेल सम्पन्न हुँदा शीर्ष स्थानको आर्सनल तथा चेल्सीले जित निकालेका छन् । यस्तै, म्यानचेष्टर सिटी बराबरीमा रोकिँदा म्यानचेष्टर युनाइटेड पराजित भएको छ ।
शीर्ष स्थानको आर्सनलले ब्राइटनलाई १–० ले हरायो । आर्सनलको जितमा बुकायो साकाले खेलको नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
चेल्सीले एष्टन भिल्लालाई ४–१ ले हराउँदा जोआओ पेड्रोले ह्याट्रिक गरे । उनले खेलको ३५, पहिलो हाफको इन्जुरी समय र ६४औं मिनेटमा गरी हयाट्रिक पूरा गरेका हुन् । कोल पाल्मरले एक गोल थपे । यसअघि डोग्लास लुइसले एष्टन भिल्लालाई दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । तर, चेल्सीको आक्रमक खेललाई भिल्लाले रोक्न सकेन ।
दुई पटक लिएको अग्रता जोगाउन नसक्दा सिटी नटिंघम फोरेष्टसँग २–२ को बराबरीमा रोकिएको छ । खेलको ३१औं मिनेटमा एन्टोइन सेमेन्योले सिटीलाई अग्रता दिलाए । ५६औं मिनेटमा मोर्गन वाइटले बराबर गोल गरे । रोड्रीले ६२औं मिनेटमा पुनः सिटीलाई अग्रता दिलाएका थिए । तर, ७०औं मिनेटमा एलिओट एन्डरसनले बराबरी गोल फर्काएका हुन् ।
अर्काे खेलमा म्यानचेष्टर युनाइटेड न्युक्यासल युनाइटेडसँग २–१ ले पराजित भयो । न्युक्यासलको जितमा एन्थोनी थोर्डन र विलियम ओसुलाले गोल गरे । विलियमले ९०औं मिनेटमा विजयी गोल गरेका थिए । म्यानचेष्टरको लागि कासेमेरोले गोल गरेका थिए ।
अर्काे खेलमा फुलहमलाई वेष्टहम युनाइेटडले १–० ले हराएको थियो ।
३० खेलपछि आर्सनलले ६७ अंकसहित शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको सिटीको ६० अंक छ । युनाइटेड ५१ अंकसहित दोस्रो स्थानमा रह्यो । एष्टन भिल्ला पनि ५१अंक भएपनि गोलअन्तरमा चौथो स्थानमा रहयो । ४८ अंकको चेल्सी पाँचौं स्थानमा रहेको छ ।
