काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अप्रिलको तेस्रो साता थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
मंगलबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले मंगलबार फिफा सिरीजअन्तर्गत थाइल्यान्डको रत्चाबुरी रंगशालामा हुने मैत्रीपूर्ण खेलका बारेमा जानकारी गराएको हो ।
नेपालले अप्रिल १५ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग खेल्नेछ । सोही दिन घरेलु टोलीले ओशिनिया फुटबल महासंघ (ओएफसी)का १३ राष्ट्रमध्ये एकसँग खेल्नेछ ।
तीन दिनपछि विजेता टोलीले एकअर्कासँग खेल्नेछ । सोही दिन हार्ने टोलीबीच पनि प्रतिस्पर्धा हुनेछ ।
नेपाली टोली लगातार दोस्रो अन्तर्राष्ट्रिय भ्रमणमा कप्तान सावित्रा भण्डारी र अट्याकिङ मिडफिल्डर सवीता रानामगरविना मैदानमा उत्रिनेछ । पछिल्लो पटक नेपालले इन्डोनेसियामा त्रिदेशीय अन्तर्राष्ट्रिय सिरीज खेलेको थियो । त्यतिबेला सवीता घाइते थिइन् । सावित्रा भने व्यावसायिक जिम्मेवारीमा थिइन् । अहिले सवीता घुँडाको शल्यक्रियापछि आराम गरिरहेकी छन् । उनी ७ देखि ८ महिना मैदान बाहिर रहने बताइएको छ ।
सावित्राको हकमा उनी अहिले घुँडाको शल्यक्रिया गर्ने तयारीमा छिन् । एक महिनाअघि अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्रालाई घुँडाको गम्भीर चोट लागेको थियो । ब्रिसबन रोअरविरुद्धको खेलमा उनी घाइते भएकी थिइन् । रिपोर्टमा घुँडको एसिएल ग्राफ्ट च्यातिएको देखिएको थियो । योसँगै उनी कम्तिामा पनि ९ महिना मैदान बाहिर रहने बताइएको छ ।
