काठमाडौं । ट्वान्टी २० को सुपर ८ को खेलमा वेस्ट इण्डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित गरेपछि भारत समस्यामा परेको छ ।
सोमबार भएको सुपर ८ को खेलमा जिम्बाब्वेलाई वेस्ट इण्डिजले १ सय ७ रनको फराकिलो अन्तरले पराजित गर्याे ।
जितपछि फराकिलो रनरेट सहित वेस्टइण्डिज समूह एकको शीर्ष स्थानमा छ । पराजित जिम्बाब्वे अंक बिहिनरहेको छ ।
सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको भारतले दोस्रो खेलमा जिम्बाब्वे र तेस्रो खेलमा वेस्ट इण्डिजसँग खेल्नेछ । फराकिलो अन्तरले पराजित भारतको रन रेट नकारात्मक रहेको छ । भारतलाई हराएको दक्षिण अफ्रिकाको तथा जिम्बाब्वेलाई फराकिलो अन्तरमा हराएको वेस्ट इण्डिजको रन रेट सकारात्मक रहेको छ ।
वेस्ट इण्डिजले आजको खेलमा फराकिलो जित निकाले पछि भारतलाई पनि बाँकी दुवै खेलमा फराकिलो जित निकाल्ने दबाब बढेको छ । वेस्ट इण्डिजले दिएको २ सय ५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वे १७.४ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । जिम्बाब्वेका लागि ब्राड इभान्सले सर्वाधिक ४३ रन जोडे ।
कप्तान सिकन्दर राजा २७, टोनी मुयोङ्गा १४ तथा डियोन मेयर्स २८ रनमा आउट भए । वेस्ट इण्डिजका लागि गुणकेश मोतीले ४ तथा म्याथ्यु फोर्डले ३ विकेट लिए ।
त्यसअघि जिम्बाब्वेले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रनको विशाल योगफल तयार गर्यो ।
वेस्ट इण्डिजका लागि शिमरन हिटमायर र रोभमन पावलले अर्धशतक बनाए । हिटमायरले ३४ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ८५ रन जोडे । पावलले ३५ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाए । रोमारियो शेफर्ड २१, कप्तान शाई होप १४ तथा जेसन होल्डर १३ रनमा आउट भए । जिम्बाब्वेका लागि रिचार्ड नगर्भा र ब्लेसिङ मुजबानीले २ तथा ब्राड इभान्सले १ विकेट लिए ।
