काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले उपचारका लागि सञ्चालन गरेको सहयोग अभियानमा हालसम्म १७ हजार ९४८ अमेरिकी डलर संकलन भएको छ ।
उनले १ लाख ३५ हजार अमेरिकी डलर लक्ष्य राखेर सहयोग अपिल गरेकी थिइन् । चार घण्टाको अन्तरालमा करिब १८ हजार अमेरिकी डलर संकलन भएको हो ।
सोमबार दिउँसो साढे तीन बजे सावित्राले एसिएलको शल्यक्रियाका लागि भावुक स्ट्याटस लेख्दै आर्थिक सहयोगको अपिल गरेकी थिइन् ।
घुँडाको शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर (नेपाली १ करोड १५ लाख हाराहारी) चाहिने भएकाले गोलमसिन सावित्राले सामाजिक सञ्जालमार्फत समर्थकसँग सहयोगको अपिल गरेकी हुन् ।
एक महिनाअघि अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्रालाई घुँडाको गम्भीर चोट लागेको थियो । ब्रिसबन रोअरविरुद्धको खेलमा उनी घाइते भएकी थिइन् । रिपोर्टमा घुँडको एसिएल ग्राफ्ट च्यातिएको देखिएको थियो । योसँगै उनी कम्तिामा पनि ९ महिना मैदान बाहिर रहने बताइएको छ ।
सावित्राको साथमा सम्पूर्ण खेलाडी र सयौं सरोकारवालाले ऐक्यबद्धता जनाएका छन् ।
