काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उपचारसम्बन्धी अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएको छ ।
सावित्राको अभिव्यक्ति आएको तीन घण्टापछि एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो प्रतिक्रिया जनाएको हो । एन्फाले सावित्राको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाली फुटबलकी महत्वपूर्ण खेलाडी भएको उल्लेख गरेको छ ।
देशका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडीको योगदानप्रति संघले उच्च सम्मान व्यक्त गरेको कुरा एन्फाले व्यक्त गरेको छ । एन्फाले सावित्रा घाइते भएलगत्तै प्रारम्भिक उपचार प्रक्रिया क्लबकै पहलमा अघि बढाइएको जानकारी दिएको छ । त्यस्तै एन्फाले उपचारसम्बन्धी विषयमा खेलाडी तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ ।
‘व्यावसायिक फुटबलमा क्लबको ड्युटीका क्रममा घाइते भएका खेलाडीको उपचारको जिम्मेवारी सम्बन्धित क्लबले वहन गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ,’ एन्फाको विज्ञप्तिमा उल्लेख छ, ‘हामी आवश्यक सहयोग तथा सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेका छौं ।’
सोमबार दिउँसो साढे तीन बजे सावित्राले एसिएलको शल्यक्रियाका लागि भावुक स्ट्याटस लेख्दै आर्थिक सहयोगको अपिल गरेकी थिइन् ।
घुँडाको शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर (नेपाली १ करोड १५ लाख हाराहारी) चाहिने भएकाले गोलमसिन सावित्राले सामाजिक सञ्जालमार्फत समर्थकसँग सहयोगको अपिल गरेकी हुन् ।
एक महिनाअघि अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्रालाई घुँडाको गम्भीर चोट लागेको थियो । ब्रिसबन रोअरविरुद्धको खेलमा उनी घाइते भएकी थिइन् । रिपोर्टमा घुँडको एसिएल ग्राफ्ट च्यातिएको देखिएको थियो । योसँगै उनी कम्तिामा पनि ९ महिना मैदान बाहिर रहने बताइएको छ ।

