काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ एफसी राजधानीमा जारी एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले अहिलेसम्म अंक जोड्न नसकेको नव जनजागृति युवा क्लबविरुद्ध ४–१ को पुनरागमन जित हासिल गर्यो ।
जन जागृतिले निश्चय थापाको गोलमार्फत खेलको ३०औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफ सकिन दुई मिनेट बाँकी छँदा हरि कार्कीले बराबरी गोल फर्काए । त्यसपछि दोस्रो हाफमा युवराज खत्री, समीराज थोकर र अनिश घर्ती क्षेत्रीले गोल गरे ।

जितसँगै एपिएफ ६ खेलमा १६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो । गोल भिन्नतामा एपिएफले मछिन्द्र क्लबलाई उछिन्यो ।
सातदोबाटोमै भएको दोस्रो खेलमा एनआरटीले एपिएफ र मछिन्द्रसँग अंकमा बराबरी गर्ने अवसर गुमायो । १४ अंकसहित चौथो स्थानको एनआरटीलाई मनाङ मर्स्याङ्दीले गोलरहित बराबरीमा रोक्यो । मनाङ ७ खेलमा ८ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ ।
