काठमाडौं । एन्फा राष्ट्रिय लिगमा संकटा क्लबविरुद्ध प्लानिङ ब्वाइज युनाइटेडले ४-० को सानदार जित हासिल गरेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा प्लानिङ ब्वाइजका लागि पापा इबो केबेले ह्याट्रिक गोल गरे । त्यस्तै एक गोल श्याम मुर्मुको नाममा रह्यो । पहिलो हाफमा दुई गोल सम्भव भएको थियो ।
जितसँगै प्लानिङ ब्वाइज शीर्ष स्थानमा उक्लिएको छ । गोल भिन्नतामा प्लानिङ ब्वाइजले १६ अंक बटुलेका मछिन्द्र क्लब र एपिएफ एफसीलाई पछाडि पारेको छ ।
संकटाको यो तेस्रो हार हो । संकटा अहिले ७ खेलमा ६ अंक जोड्दै १०औं स्थानमा छ ।
लिगमा मंगलबार दुई खेल हुनेछन् । बिहान १२ः१५ बजे पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । दिउँसो ४ बजे हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र चित्लाङ एफसी भिड्नेछन् । दुबै खेल सातदोबाटोमा हुनेछन् ।
