काठमाडौं । मंगलबार हुने सुपर ८ को खेलमा पाकिस्तानलाई पराजित गरि इङ्ल्याण्ड एक खेल अगावै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ ।
भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपको सुपर ८ खेलको पाकिस्तान र इङ्ल्याण्ड नेपाली समय अनुसार बेलुका ७ः१५ मा कोलम्बोमा खेल्दै छन् ।
पहिलो सुपर ८ को खेलमा घरेलु टोली श्रीलंकालाई हराएर बलियो स्थितीमा रहेको इङ्ल्याण्ड यस खेलमा सहज जितका साथ १ खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ ।
उता पहिलो खेलमा न्युजिल्याण्डसँग वर्षाका कारण अंक बाडेको पाकिस्तान यस खेलमा जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।
सुपर ८ को समूह २ मा इङ्ल्याण्ड पहिलो र पाकिस्तान तेस्रो स्थानमा छन् । न्युजिल्याण्ड दोस्रो स्थानमा रहँदा श्रीलंका भने चौथो स्थानमा छ । समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
पाकिस्तान र इङ्ल्याण्डले ट्वान्टी २० विश्वकपमा हालसम्म ३ खेल खेलेका छन् । खेलेको सबै खेलमा इङ्ल्याण्डले नतिजा आफ्नो पक्षमा पारेको छ ।
