काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा मंगलबार मध्यराति इटालियन महारथी इन्टर मिलानले नर्वेजियन क्लब बोडो/ग्लिम्टसँग कम्तिमा पनि दुई गोल गनुपर्नेछ ।
इन्टरले बोडो/ग्लिम्टविरुद्ध अन्तिम ३२ को पहिलो लेगमा ३–१ को अप्रत्याशित हार बेहोरेको थियो । पछिल्ला तीन संस्करणमा दुईपटक फाइनल खेलेको इन्टर मिलान च्याम्पियन्स लिग इतिहासकै सबैभन्दा ठूलो ‘अपसेट’को संघारमा छ । यद्यपि दोस्रो लेगमा बोडो/ग्लिम्टको चुनौती पन्छाइरहँदा इन्टरसँग घरेलु मैदान र समर्थकको बाक्लो साथ रहनेछ ।
‘हामीले पहिलो लेगमा राम्रो गर्न सक्थ्यौं । तर, त्यसमा हामी असफल भयौं,’ इन्टरका मुख्य प्रशिक्षक क्रिस्टियन चिभुले भने, ‘तर, हामी दोस्रो लेगका लागि तयार छौं । अन्तिम १६ पुग्नेमा हामी विश्वस्त छौं ।’
गत साता बोडो/ग्लिम्टले इन्टरलाई हराउनु आश्चर्य मान्नुपर्ने विषय भने थिएन । किनभने लिग चरणमा बोडो/ग्लिम्टले म्यानचेस्टर सिटी र एट्लेटिको म्याड्रिड जस्ता बलिया टोलीलाई हराएको थियो ।
‘हामीसँग ठूला टोलीलाई हराएको अनुभव छ । त्यसैले इन्टरविरुद्धको दोस्रो लेगका लागि तयार छौं । हामीलाई गुमाउनु केही पनि छैन,’ मिडफिल्डर प्याट्रिक बर्गले भने ।
मंगलबार यसबाहेक चार खेल हुनेछन् । राति ११ः३० बजे हुने पहिलो खेलमा एट्लेटिकोले क्लब ब्रुजसँग खेल्नेछ ।
त्यसपछि १ः४५ बजे इन्टर र बोडो/ग्लिम्टसँगै अन्य तीन खेल हुनेछन् । बायर लेभरक्युसनले ओलम्पियाकसको सामना गर्दा न्युक्यासल युनाइटेडले काराबाग एफकेसँग खेल्नेछ । यसैगरी एट्लान्टाले बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्नेछ ।
