काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा लालिगुँरास एसोसिएसन क्लब र देउराली युथ क्लबले गोलरहित बराबरी खेलेका छन् ।
बिहीबार प्रतियोगिताको नवौं दिन मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् ।
यो नतिजासँगै लालिगुराँस समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्यो । लालिगुँरासले यो खेलअघि नै सेमिफाइनल समीकरणमा आफ्नो स्थान सुरक्षित गर्दै राष्ट्रिय लिगको ढोका खोलिसकेको थियो ।
बिहीबार दिनको पहिलो खेलमा चित्लाङ फुटबल क्लबले जन जागृति युवा क्लबमाथि २–० को जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । चित्लाङको जितसँगै देउरालीको राष्ट्रिय लिगको चुनौती सकिएको थियो । त्यसैले देउराली ‘लिनु न दिनु’को स्थितिमा थियो ।
लालिगुँरासले अब सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उप–विजेताले सेमिफाइनलमा स्थान बनाउनुका साथै राष्ट्रिय लिगमा छनोट हुने सेट–अप छ ।
समूह ‘बी’बाट काँक्रे बिहार सेमिफाइनलमा पुगिसकेको छ । शुक्रबार नव जन जागृति युवा क्लब र हैरान्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईमध्ये एउटाले राष्ट्रिय लिगको टिकट काट्नेछ ।
