काठमाडौं । युवा मिडफिल्डर दीपेश गुरुङले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् । बिहीबार ढाका अन्तर्राष्ट्रिय रंगशालामा दीपेशले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो ‘क्याप’ जितेका हुन् ।
करिब तीन वर्ष अगाडि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दीपेशले थ्री स्टार क्लबको जर्सी लगाएका थिए । त्यतिबेला मेघराज केसीको नेतृत्वमा रहेको टोलीका उनी प्रमुख खेलाडी थिए । केसीकै नेतृत्वमा उनले सन् २०२२ मा भारतको भुवनेश्वरमा सम्पन्न साफ यु-२० च्याम्पियनसिप खेलेका थिए । जतिबेला टोलीका कप्तानी आयुष घलानले गरेका थिए । आज उनै आयुषलाई दीपेशले दोस्रो हाफको ६०औं मिनेटमा प्रतिस्थापन गर्दै अन्तर्राष्ट्रिय डेब्युको उपलब्धि हासिल गरे । सोही वर्ष बहराइनमा सम्पन्न एएफसी यु–२० एसियन कप छनोट प्रतियोगितामा पनि दीपेशले नेपालको प्रतिनिधित्व गरे ।
गत सेप्टेम्बरमा ताजकिस्तानमा सम्पन्न एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगितामा दीपेश, नवीन न्यौपानेको प्रशिक्षणमा रहेको नेपाली टोलीका महत्वपूर्ण सदस्य थिए ।
गत वैशाख सम्पन्न नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण काठमाडौं रेजर्सबाट खेलेका दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।
ढाकामा नेपाल घरेलु टोलीविरुद्ध २–१ ले पछाडि छ ।
