काठमाडौं । अट्याकिङ मिडफिल्डर आदित्य शाक्यले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् ।
बिहीबार ढाका अन्तर्राष्ट्रिय रंगशालामा आदित्यले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो ‘क्याप’ जितेका हुन् । अदित्यले खेलको ८६औं मिनेटमा डिफेन्सिभ मिडफिल्डर मणिकुमार लामालाई प्रतिस्थापन गरे ।
करिब तीन वर्ष अगाडि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आदित्यले थ्री स्टार क्लबको जर्सी लगाएका थिए । त्यतिबेला मेघराज केसीको नेतृत्वमा रहेको टोलीका उनी प्रमुख खेलाडी थिए । थ्री स्टारअघि आदित्यले शीर्ष डिभिजन लिगमा सातदोबाटो युथ क्लबको प्रतिनिधित्व गरेका थिए ।
पछिल्लो दुई संस्करण नेपाल सुपर लिग (एनएसएल)मा च्याम्पियन ललितपुर सिटी एफसीबाट खेलेका आदित्यले राष्ट्रिय टोलीको दोस्रो अनुभवमा डेब्युको अवसर प्राप्त गरेका हुन् । गत सेप्टेम्बरमा घरेलु भूमिमा सम्पन्न बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आदित्य राष्ट्रिय टोलीमा थिए । उनी त्यतिबेला पहिलो खेलमा बेन्चमै सीमित थिए । जेन्जी आन्दोलनका कारण दोस्रो खेल स्थगित गरिएको थियो ।
त्यसपछि एसियन कप छनोट अन्तर्गत भियतनामविरुद्धको दुबै लेगका लागि भने आदित्य निवर्तमान मुख्य प्रशिक्षक म्याथ्यु रसको अन्तिम टोलीमा अटाएका थिएनन् ।
ढाकामा बिहीबार नेपालले घरेलु टोलीविरुद्ध २–२ को बराबरी खेल्यो । यसै खेलमार्फत युवा मिडफिल्डर दीपेश गुरुङले पनि पहिलो अन्तर्राष्ट्रिय क्याप जिते ।
