काठमाडौं । चित्लाङ एफसीमाथि ३-० को सहज जित हासिल गर्दै लालिगुँरास एसोसिएसन क्लब राष्ट्रिय लिगमा छनोट भएको छ ।
मंगलबार प्रतियोगिताको सातौं दिन मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘ए’को खेलमा लालिगुँरासलाई जित दिलाउन लछ्छु थापा, आशिष गुरुङ र सुलेमान थापामगरले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको लालिगुँरासले दोस्रो हाफमा दुई गोल थपेको हो ।
जितसँगै लालिगुँरास यही पुस ९ बाट हुने भनिएको राष्ट्रिय लिगका लागि छनोट भएको छ । तीन खेलमा सात अंक जोडेको लालिगुँरासले कम्तिमा पनि दोस्रो स्थान सुरक्षित गरिसकेको छ । यसअघि विजयी स्पोर्टससँग गोलरहित बराबरी खेलेको लालिगुँरासले जन जागृति युवा क्लबमाथि ४-० को सानदार जित हासिल गरेको थियो ।
तीन खेलमा चार अंक जोडेको चित्लाङको यो पहिलो हार हो । पहिलो खेलमा देउराली युथ क्लबमाथि ४-१ को जित हासिल गरेको चित्लाङले त्यसपछि विजयी स्पोर्टससँग १–१ को बराबरी खेलेको थियो । बिहीबार अन्तिम खेलमा जन जागृतिलाई पराजित गरे चित्लाङले पनि राष्ट्रिय लिगमा स्थान बनाउने समीकरण बनेको छ ।

दिनको पहिलो खेलमा जन जागृतिले विजयी स्पोर्टसलाई १-१ को बराबरीमा रोकेपछि यो समीकरण बनेको हो ।
विजयी स्पोर्टस लगातार दोस्रो जित हासिल गर्दै राष्ट्रिय लिगका लागि छनोट हुने तरखरमा थियो । तर, जन जागृतिका लागि हरिहर बुढामगरले ९०+(४) मिनेटमा गोल गर्दै टोलीको हार टारे । यसअघि पहिलो हाफ सकिन चार मिनेट बाँकी छँदा आरोन थापाले विजयी स्पोर्टसलाई अग्रता दिलाएका थिए ।
यो नतिजासँगै विजयी स्पोर्टसले चार खेलबाट ६ अंक जोडेको छ । यसअघि लालिगुँरास एसोसिएसन क्लब र चित्लाङ एफसीसँग बराबरी खेलेको विजयी स्पोर्टसले अघिल्लो खेलमा देउरालीमाथि ४-१ को सानदार जित हासिल गरेको थियो । बराबरीसँगै विजयी स्पोर्टसको राष्ट्रिय लिगमा छनोट हुने चुनौतीमा धक्का पुग्यो । अब चित्लाङले जन जागृतिसँग बराबरी खेले मात्र विजयी स्पोर्टसले सेमिफाइनलमा स्थान बनाउनेछ ।
सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने समीकरण छ । सेमिफाइनल पुग्ने टोलीले राष्ट्रिय लिग खेल्नेछन् । समूह ‘बी’बाट काँक्रे बिहार राष्ट्रिय लिगमा छनोट भइसकेको छ ।
प्रतियोगिताको आठौं दिन बुधबार समूह ‘बी’का दुई खेल हुनेछन् । बिहान १२ः१५ बजे हुने पहिलो खेलमा टाइगर्स टिमले नव जन जागृति क्लबसँग खेल्नेछ । दिउँसो ३ः१५ बजे हुने दोस्रो खेलमा गाईघाट एफसीले हैरान्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तो छ समूह ‘ए’को तालिकाः

