काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो सिजनका लागि विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो नेपालसँग मुख्य प्रायोजन सम्झौता गरेको छ ।
मंगलबार लुम्बिनीका अध्यक्ष ईश्वर जिसी र याङ्गो नेपालका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
याङ्गो ग्रुप संयुक्त अरब इमिरेट्स (युएइ)को दुबईमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो । यसले विश्वका विभिन्न ठाउँबाट विकास गरिएका प्रविधिहरूलाई स्थानीय समुदायका आवश्यकता अनुसार दैनिक सेवाहरूमा रूपान्तरण गर्छ जसमा मोबिलिटी, नेभिगेसन, डेलिभरी, फुडटेक, मनोरञ्जन र एआई असिस्टेन्ट लगायतका सेवा समावेश छन्।
रोहितकुमार पौडेल मार्की रहेको लुम्बिनीले सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अविनाश गौतमलाई दोस्रो सिजनका लागि पनि टोलीमा निरन्तरता दिएको छ ।
यसैगरी लुम्बिनीले विवेककुमार यादवको स्थानमा सुमित महर्जनलाई टोलीमा समावेश गरेको छ । विवेकले चोटको शल्यक्रिया गरेका कारण एनिपएल गुमाउने भएका हुन् ।
लुम्बिनीले मिनी अक्सनबाट दिलीप नाथ, शेर मल्ल, विशाल पटेल, दुर्गेश गुप्ताका र आदिल खानलाई अनुबन्ध गरेको थियो ।
यस्तै टिनु योहान्नन प्रशिक्षक रहेको टोलीले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका डार्शी शर्ट, इटालीका थोमस ड्राका र अफगानिस्तानका गुल्बदिन नइबलाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
यो सिजन पनि लुम्बिनीसँगै साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र काठमाडौं गोर्खाज उपाधिका लागि भिड्ने छन् ।
