काठमाडौं । नेपाली महिला फुटबलकी ‘डेड बल स्पेशलिस्ट’ले आफ्नो ‘सेटपीस’बाट फेरि एकपटक फुटबल प्रेमीको ध्यान तानेको दिन नेपाल एपिएफ क्लब झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
शनिबार शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा एपिएफले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मीविरुद्ध रोमाञ्चक जित निकाल्यो । टाइब्रेकरमा आर्मीलाई निराश पारेको एपिएफका लागि कप्तान अनिता बस्नेतले निर्णायक पेनाल्टी प्रहार गरेकी थिइन् ।
आर्मीले खेलको ६३औं मिनेटमा चन्द्रा भण्डारीको गोलमार्फत अग्रता बनाएको थियो । निर्धारित समयसम्म एपिएफले गोल गर्न सकेन । त्यसपछि सात मिनेट थपिएको थियो । चौथो मिनेटमा आर्मीकी अट्याकिङ मिडफिल्डर विमला चौधरीले बललाई हातले छोएपछि एपिएफले करिब २५ यार्ड पर सेटपीस अवसर पायो । जसलाई डेड बल स्पेशलिस्ट अनिताले सानदार ढंगमा सदुपयोग गरिन् । उनको ‘क्लास’ फ्रिकिक प्रहारलाई विपक्षी गोलकिपर कोपिला खड्काले बचाउन सकिनन् । निर्धारित खेल १–१ को बराबरीमा सकियो ।
पेनाल्टी सुटआउटमा अनितासँगै एपिएफका लागि सबिता राना, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गर्दा भने रेनुका हमालको प्रहार कोपिलाले रोकिन् ।
आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके । विमला (चौधरी) र सुस्मिता चौधरीको प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरलाई बचाउन गाह्रो भएन । दुई बचाउसँगै अञ्जना खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।
अब एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल कार्तिक २४ गते सोमबार दिउँसो ३ बजे हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
