काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा हैरान्स क्लबले टाइगर्स टिममाथि ५-२ को सानदार जित हासिल गरेको छ ।
शनिबार प्रतियोगिताको चौथो दिन मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘बी’को खेलमा हैरान्सलाई जित दिलाउन रोशन डोङले दुई तथा समीराज थोकर र विश्व लिम्बूले एक–एक गोल गरे । टाइगर्सका लागि विशेष लामाले दुई गोल गरे ।
प्रतियोगितामा हैरान्सको यो पहिलो जित हो । यसअघि आफ्नो पहिलो खेलमा हैरान्सले काँक्रे बिहार युथ क्लबसँग ३–२ को हार बेहोरेको थियो ।
आफ्नो पहिलो खेलमा गाईघाट फुटबल क्लबलाई २-१ ले हराएको टाइगर्स हैरान्ससामू निरीह देखियो ।
शनिबार दिनको पहिलो खेलमा काँक्रे बिहारले नव जन जागृति युवा क्लबसँग १-१ को बराबरी खेल्यो । यो नतिजासँगै समूह ‘बी’मा काँक्रे बिहारले दुई खेलमा चार अंक जोडेको छ । नव जन जागृति युवा क्लबको यो पहिलो खेल हो ।
प्रतियोगिताको पाँचौं दिन आइतबार समूह ‘ए’का दुई खल हुनेछन् । बिहान १२ः१५ बजे हुने पहिलो खेलमा जन जागृति युवा क्लबले लालिगुँरास एसोसिएसन क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा देउराली युथ क्लबले विजयी स्पोर्टस क्लबसँग खेल्नेछ । यो खेल दिउँसो ३ः१५ बजे हुनेछ ।
