काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी पूर्व कप्तान तथा गाेलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आवद्ध भएकी छिन् ।
क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो । अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छिन् ।
अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन् । यसअघि पनि उनले सेथुबाट खेलेकी हुन् । सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान नै थिइन् ।
पछिल्लो सिजन भने उनले युरोपेली लिग खेलेकी थिइन् । युरोपेली लिग खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी उनले ग्रीसको निस अट्रोमिटौबाट एक सिजन खेलेकी हुन् ।
यसपटक विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबाट एएफसी महिला च्याम्पियन्स लिगको छनोट खेल पनि खेल्न भ्याइन् । तर, ताजकिस्तानमै रहँदा सम्झौता गर्न नपाएपछि उनी आधा सिजनपछि मात्रै युरोपेली लिगको लागि आवद्ध हुने तरखरमा छिन् ।

‘युरोपबाटै खेल्ने अवसर पनि आएको थियो । तर, ताजकिस्तानमा हुँदा सम्झौता गर्न पाइन्,’ अञ्जिलाले खेलाडी डटकमसँग भनिन्, ‘तत्काललाई सेथुबाट भारतीय लिग खेल्छु । मध्यसिजनमा पुनः युरोपेली क्लबसँग नै जोडिन्छु ।’
यसअघि अञ्जिलाले पाकिस्तानी टिम मासा युनाइटेडबाट पनि खेलेकी थिइन् ।

अञ्जिलाले हालसम्म देशको लागि ५७ खेल खेलिसकेकी छिन् । उनी देशको लागि सर्वाधिक खेलमा आर्म ब्यान्ड लगाउने खेलाडी पनि पर्छिन् ।
नोभेम्बरबाट सुरु हुने भारतीय महिला लिगमा पूर्व विजेता इष्ट बंगालसहित आठ टिम सहभागी हुँदैछन् । भारतीय लिग हालसम्म गोकुलम केरेलाले सर्वाधिक ३ पटक जितेको छ ।