काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’को अन्तिम तथा निर्णायक खेलमा नेपालले आइतबार (आज) उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ । खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार १ः४५ बजे सुरु हुनेछ ।
उत्तर कोरियालाई हराउन सके नेपालले अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपमा स्थान बनाउने छ । उत्तर कोरियालाई भने कम्तिमा पनि बराबरीको नतिजाले एसियन कपमा पुर्याउनेछ ।
गोलका लागि संघर्षरत नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग १-१ को बराबरी खेलेको थियो । शुक्रबार सम्पन्न दोस्रो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध १-० को कठिन जित हासिल गर्यो ।
एसियन कपको साविक विजेता उत्तर कोरियाले पछिल्ला दुई खेलमा २५ गोल गरेको छ । पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियामाथि १५-० को सानदार जित हासिल गरेको थियो । दोस्रो खेलमा घरेलु टोली १०-० ले निराश बन्यो ।
शुक्रबार भुटान र साउदी अरेबिया दुबैको एसियन कप पुग्ने सम्भावना एक खेलअगावै समाप्त भएको थियो ।
गत महिना सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपमा स्ट्राइकरद्धय पूर्णिमा राई र मीना देउवाले ६ खेलमा दुई-दुई ह्याट्रिकसहित कुल १७ गोल गरेका थिए । तर, भुटानमा यी खेलाडीबाट गोल निस्किएको छैन । नेपालले गरेका दुई गोल मिडफिल्डरले गरेका हुन् । पहिलो खेलमा सेनु परियारले स्केरसीटमा आफ्नो नाम लेखाएकी थिइन् । साउदी अरेबियाविरुद्ध सुक्रिया मियाले नेपालको लाज ढाकिन् । सुक्रियाले निर्धारित समयको अन्तिम मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।
पछिल्ला दुई खेलमा नेपालको स्ट्राइकिङ लाइनले सोचेअनुरुपको प्रदर्शन गर्न सकेन । मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साउदी अरेबियासँगको खेलमा नियमित पहिलो रोजाईका खेलाडी पूर्णिमा राईको ठाउँमा वर्षा ओलीलाई मैदानमा उतारेका थिए । तर, गुरुङको यो निर्णय फलदायी हुन सकेन । तीन पटकको विश्वकप विजेता उत्तर कोरियाविरुद्ध नेपाललाई झन गाह्रो हुनेछ ।
एसियन पुग्ने काल्पनिक सपनालाई साकार पार्ने हो भने आइतबार नेपाल अट्याकिङ रणनीतिभन्दा ‘डिफेन्सिभ अप्रोच’का साथ मैदान उत्रिन आवश्यक छ । नेपालले कसरी उत्तर कोरियाको आक्रमणलाई रोक्न सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ ।
दिनको दोस्रो खेलमा भुटानले साउदी अरेबियाको सामना गर्नेछ । यो खेल साँझ ५ः४५ बजे हुनेछ ।