काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको मिनी अक्सन सम्पन्न भएको छ । शनिबार ललितपुरस्थित रोयल ट्युलिपमा सम्पन्न अक्सनबाट कूल ३७ खेलाडी आठ फ्रेन्चाइज टोलीमा आबद्ध भए ।
ड्राफ्टमा रहेका १६८ खेलाडीमध्ये पहिलो चरणमा २६ खेलाडीमाथि बोली लागेको थियो । दोस्रो चरणमा ११ खेलाडी ‘विस लिस्ट’मा छानिए ।
समग्रमा यस्तो रह्यो एनपिएल मिनी अक्सन:
१. चितवन सबैभन्दा बढी खर्च गर्ने टोली
चितवन राइनोजले एनपिएलको पहिलो संस्करणबाट ३२ लाख खर्च गर्दै पाँच खेलाडीलाई रिटेन गरेको थियो । प्रत्येक टोलीले अधिकतम ९० लाख रुपैयाँ खर्च गर्न पाउने नियम रहँदा अक्सन सुरु हुनुअघि चितवनसँग ५८ लाखको रकम बाँकी थियो ।
ब्याटिङ अलराउन्डर कुशल मल्ल मार्की रहेको चितवनले अक्सनबाट क्याटोगोरी ‘ए’का ब्याटर देव खनाल र विकेटकिपर ब्याटर अर्जुन साउदलाई उच्चतम मूल्य १५ लाखमा अनुबन्ध गर्दा क्याटोगोरी ‘बी’का ब्याटर विपीन रावललाई न्युनतम मूल्य ५ लाखमा भित्र्यायो । त्यस्तै क्याटोगोरी ‘सी’का अलराउन्डर विपीन आचार्य र बलर रञ्जीत कुमारलाई न्युनतम मूल्य २ लाखमा अनुबन्ध गर्यो । यसरी चितवनले सबैभन्दा बढी कूल ३९ लाख खर्च गर्यो ।
अक्सनमा पोखरा एभेन्जर्सले सबैभन्दा कम रकम खर्च गर्यो । पोखराले कूल चार खेलाडी अनुबन्ध गर्दा मात्र ११ लाख खर्च गर्यो । यसैगरी कर्णाली याक्सले २९ लाख, जनकपुर बोल्ट्सले १९ लाख ७५ हजार, सुदूरपश्चिम रोयल्सले २४ लाख, लुम्बिनी लायन्सले ३२ लाख, काठमाडौं गुर्खाजले ३७ लाख र विराटनगर किङ्सले २७ लाख खर्च गर्यो ।
२. २६ खेलाडीमाथि लाग्यो बोली
पहिलो चरणमा मात्र २६ खेलाडीमाथि बोली लागेको थियो । बाँकी १३८ खेलाडी ‘अनसोल्ड’ भएका थिए । पहिलो चरणमा क्याटोगोरी ‘ए’बाट देव खनाल, दिलीप नाथ, सूर्य तामाङ, अर्जुन साउद, पवन सराफ, मोहम्मद अदील अलाममाथि बोली लाग्दा शरद भेषवाकर र सुनम गौतम ‘अनसोल्ड’ भएका थिए ।
क्याटोगोरी ‘बी’बाट हेमन्त धामी, साहिल पटेल, अर्जुन कुमाल, सन्तोष यादव, मयन यादव, नारायण जोशी, आकाश त्रिपाठी, युवराज खत्री, शेर मल्ल बिक्री हुँदा बाँकी २८ खेलाडीलाई कसैले बोली लगाएनन् ।
क्याटोगोरी ‘सी’बाट टेक बहादुर राउत, उत्तम थापामगर, सचिन भट्ट, अभिषेक तिवारी, विशाल पटेल, आदीत्य महता, दीपेन्द्र थापा, टुल बहादुर थापा, कुष्ण पौडेल, इम्रान शेख, दीपक डुम्रे पहिलो चरणमा बिक्री भए ।
यी २६ खेलाडीमध्ये देव खनाल, अर्जुन साउद, पवन सराफ, विशाल पटेल, आदीत्य महता, सन्तोष यादव, मोहम्मद आदील आलम, युवराज खत्री र शेर मल्ल आ–आफ्नो क्याटोगोरीमा उच्चतम मूल्य क्रमशः १५ लाख, १० लाख र ५ लाखमा विक्री भए ।
३. ‘विस लिस्ट’बाट छानिए ११ खेलाडी
विस लिस्टबाट ११ खेलाडीलाई ६ टोलीले अनुबन्ध गरे ।
क्याटोगोरी ‘बी’बाट दीपक बोहरालाई सुदूरपश्चिम, दुर्गेश गुप्तालाई लुम्बिनी, विपीन रावललाई चितवन र शंकर रानालाई विराटनगरले अनुबन्ध गर्यो ।
त्यस्तै क्याटोगोरी ‘सी’बाट मिलन बोहरालाई सुदूरपश्चिम, आदील खानलाई लुम्बिनी, विपीन आचार्य र रञ्जीत कुमारलाई चितवन, शर्व किस्कु केसीलाई विराटनगर र सन्दीप केसी क्षेत्रीलाई पोखराले विस लिस्टबाट टोलीमा ल्यायो ।
४. आदील आलमलाई आठै टिमले बोली लगाए
‘स्पट फिक्सिङ’को मुद्धामा नेपाल क्रिकेट संघ (क्यान)बाट निलम्बनमा परेका मोहम्मद आदील आलम एनपिएल मिनी अक्सनमा आर्कषणको केन्द्रविन्दु बने । निलम्बन फुकुवापछि घरेलु क्रिकेटमा फर्किएका ब्याटिङ अलराउन्डर आदीललाई आठवटै टोलीले बोली लगाएका थिए । अन्त्यमा आदील ‘लक्की ड्र’मार्फत काठमाडौंमा आबद्ध भए । आदीललाई हासिल गरेपछि ‘काठमाडौं फ्रेन्चाइज टेबल’ को खुसी हेर्नलायक थियो ।
५. यस्तो छ मिनी अक्सनपछिको टोली
१. जनकपुर बोल्ट्स
आसिफ शेख (मार्की), अनिल कुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशकर, मयन यादव, सचीन भट्ट, आदीत्य महता र विकास आग्री
२. सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरि (मार्की), आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेक बहादुर राउत, दीपेन्द्र थापा, दीपेन्द्र बोहरा र मिलन बोहरा
३. कर्णाली याक्स
सोमपाल कामी (मार्की), गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, युनिस ठकुरी, विपीन शर्मा, पवन सराफ, इम्रान शेख, दीपक डुम्रे, युवराज खत्री
४. चितवन राइनोज
कुशल मल्ल (मार्की), रिजन ढकाल, कमल सिंह ऐरि, अमर रौटेला, दीपक बोहरा, गौतम केसी, देव खनाल, अर्जुन साउद, विपीन आचार्य, विपीन रावल र रञ्जीत कुमार
५. काठमाडौं गोर्खाज
करण केसी (मार्की), शाहब आलम, भिम शार्की, रासिद खान, दीपेश कँडेल, प्रतीक श्रेष्ठ, आदील आलम, उत्तम थापामगर, टुल बहादुर थापा, सन्तोष यादव र आकाश त्रिपाठी
६. विराटनगर किङ्स
सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतीस जिसी, वसीर अहमद, शुवास भण्डारी, नरेन भट्ट, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, शर्व किस्कु केसी र शंकर राना
७. पोखरा एभेन्जर्स
कुशल भुर्तेल (मार्की), सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपीन खत्री, त्रीत राज दास, दीनेश खरेल, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप केसी
८. लुम्बिनी लायन्स
रोहित कुमार पौडेल (मार्की), सन्दीप जोरा, टिलक राज भण्डारी, दीनेश अधिकारी, अभिशेष गौतम, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान