काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका जर्मन गोलकिपर मार्क आन्द्रे टेर स्टेगन कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने भएका छन् ।
बार्सिलोनाले टेर स्टेगनको कम्मरको समस्या समाधान गर्न अर्को साता शल्यक्रिया गरिने जानकारी दियो ।
‘याेमेरो लागि व्यक्तिगत रूपमा कठिन दिन हो,’ स्टेगनले भने, ‘शारीरिक रूपमा राम्रो देखिए पनि म दुःखाइबाट भने मुक्त छैन । बार्सिलोनाको मेडिकल टिम र बाह्य विशेषज्ञहरूसँग छलफलपछि पूर्णरूपमा निको हुने सबैभन्दा सुरक्षित र छिटो उपाय शल्यक्रिया नै भएको निष्कर्षमा पुगेका छौं ।’ भविष्यमा कुनै समस्या नहोस भनेर चिकित्सकहरूले कम्तिमा पनि तीन महिना विश्राम लिन सल्लाह दिनु भएको छ ।’
३३ वर्षीय टेर स्टेगन घुँडाको चोटका कारण गत सिजन लगभग पूरै समय मैदान बाहिर थिए । सन् २०२३ मा पनि उनी कम्मरको शल्यक्रियाका कारण दुई महिनाजति मैदानबाहिर रहेका थिए ।