काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिए) को दोस्रो संस्करण भदौ २० देखि २८ सम्म हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्र्नेछन् ।
यति बेला सबै फ्रेन्चाइज टोली आफ्नो तयारीमा जुटिरहेका छन् । सबै टोलीले गत साता सम्पन्न अक्सनबाट आठ सदस्यीय टोली तयार पारेको छ । अब उनीहरू विदेशी खेलाडी भित्र्याउने प्रयासमा छन् ।
यस पटक गत संस्करणमा सहभागिता जनाएको चितवन शक्ति भने नदेखिने भएको छ । चितवनको स्थान लुम्बिनी लाभाजले लिएको छ ।
गत संस्करणमा गण्डकी थन्डर्सको नामले सहभागिता जनाएको फ्रेन्चाइज टोलीले पनि आफ्नो नाम परिवर्तन गरेर पोखरा निन्जाज राखेको छ । यो टोलीको मार्की खेलाडी पनि परिवर्तन भएको छ ।
पोखराको मार्कीमा सरस्वती चौधरीको स्थान प्रगति नाथले लिएकी छन् । उनी मात्र नयाँ मार्की हुन् । अन्य पाँच खेलाडी पहिलो संस्करणमा पनि मार्की थिए ।
अक्सनमा कूल ६८ खेलाडी समावेश भएकोमा ४२ खेलाडीमाथि मात्रै बोली लाग्यो २६ खेलाडी भने अनसोल्ड रहे ।
मधेश युनाइटेडले पनि आफ्नो प्रशिक्षक परिवर्तन गरेको छ । टोलीले भरत यादवको स्थानमा कोपिला उप्रेतीलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । उनी प्रतियोगिताको एक्लो महिला प्रशिक्षक हुन् ।
काठमाडौं स्पाइकर्सले पनि प्रशिक्षक परिवर्तन गरेको छ । पहिलो संस्करणमा टोलीको प्रशिक्षण सम्हालेका जगदीश भट्ट प्रतियोगिताको डाइरेक्टर भएपछि लोकेश बुढाले उक्त जिम्मेवारी सम्हाल्ने भएका छन् ।
अक्सन

नेपाली भिलबलको इतिहासमा पहिलो पटक खेलाडीको अक्सन भएको छ । खेलाडीको अक्सन हुँदा कुन खेलाडीले कति रकम पाए भन्ने थाहा समेत हुनेछ ।
हरेक टोलीक्याटेगोरी ‘ए’, ‘बी’ र ‘सी’ का खेलाडी अक्सनबाट अनुबन्ध गरिएको हो । क्याटेगोरी ‘ए’ मा रहेका खेलाडीको न्युनतम मूल्य १ लाख १५ हजार थियो भने अक्सनमा टिमले अधिकतम मूल्य १ लाख ३२ हजार ५०० सम्म बोली लगाएका थिए ।
यस्तै क्याटेगोरी ‘बी’ का खेलाडीका लागि १ लाख देखि १ लाख १५ हजारसम्म तथा क्याटेगोरी सी का खेलाडीका लागि ५० हजार देखि ५७ हजार ५००सम्मको मूल्य तोकिएको थियो ।
क्याटोगोरी ‘ए’ का कामना विष्ट, पुनम चन्द, संगम महतो र साफिया पुनले अधिकतक मूल्य १ लाख ३२ हजार ५०० रुपैयाँ प्राप्त गरे । उनीहरू क्रमशः लुम्बिनी लाभाज, पोखरा निन्जाज, ललितपुर क्विन्स र कर्णाली याश्विस पुगे ।
क्याटेगोरी ‘ए’ मा अनसोल्ट भएका खेलाडी क्याटेगोरी ‘बी’ र क्याटेगोरी ‘बी’ मा अनसोल्ड भएका खेलाडीस्वत क्याटेगोरी ‘सी’ मा घटुवा भएर अक्सन गराइएको थियो ।
हरेक टिमले क्याटेगोरी ‘ए’ बाट १ क्याटेगोरी ‘बी’ र ‘सी’ बाट समान ३ खेलाडी अनुबन्ध गरेका थिए । अक्सनमा कूल ६८ खेलाडी समावेश भएकोमा ४२ खेलाडीमाथि मात्रै बोली लाग्यो २६ खेलाडी भने अनसोल्ड रहे ।
क्याटोगोरी ‘ए’ का कामना विष्ट, पुनम चन्द, संगम महतो र साफिया पुनले अधिकतक मूल्य १ लाख ३२ हजार ५०० रुपैयाँ प्राप्त गरे । उनीहरू क्रमशः लुम्बिनी लाभाज, पोखरा निन्जाज, ललितपुर क्विन्स र कर्णाली याश्विस पुगे ।
अक्सनमा पोखरा निन्जाजले सबैभन्दा बढि ६ लाख ३० हजार ५०० तथा सबैभन्दा कम मधेश युनाइटेडले ५ लाख ८७ हजार ५०० रुपैयाँ खर्चिएका थिए । यसैगरी ललितपुर क्सिन्सले ६ लाख २७ हजार ५००, लुम्बिनी लाभाज र काठमाडौं स्पाइकर्सले समान ६ लाख १२ हजार ५०० र कर्णाली यश्विसले ५ लाख ९० हजार रुपैयाँ खर्चिए ।
यस्ता छन् फ्रेन्चाइज टोली
कर्णाली यश्विसउपाधि रक्षा अभियानमा रहेको कर्णालीले प्रशिक्षकमा कुमार राई र मार्कीमा सुमित्रा रेग्मीलाई नै निरन्तरता दिएको छ । टोलीले अक्सनबाट साफिया पुन, रस्मिता दुरा, जसना महतो, पूजा थारु, नेबिका चौधरी, रेबिका लामा तामाङ र एलिसा भोजुलाई भित्र्याएको छ ।
कर्णालीकी मार्की खेलाडी सुमित्रा उपाधि रक्षा गर्ने दबाब नलिई खेल्ने बताउँछिन् । ‘पहिलो पटक अक्सनमा सहभागी हुँदा निकै उत्साही थिएँ । अक्सनबाट सोचेका केही खेलाडी पाएनौं । तर जति खेलाडी आएका छन्, उनीहरूलाई मिलाएर सन्तुलित टोली तयार पार्नेछौं । यस पटक पनि उपाधि जित्नुपर्छ भन्ने नै छ । तर हामी त्यसको दबाबमा भने खेल्ने छैनौं,’ सुमित्राले भनिन् ।
ललितपुर क्विन्स

गत संस्करण उपाधि नजिक पुगेर पनि निराश बनेको ललितपुरले पनि प्रशिक्षकमा उत्सव खड्का र मार्कीमा सलिना श्रेष्ठलाई निरन्तरता दिएको छ । टोलीले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनीता राई, सलिना बुढामगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई भित्र्याएको छ ।
ललितपुरकी मार्की सलिना आफ्नो टोली सन्तुलित रहेको तर्क गर्छिन् । ‘हामीले अक्सनबाट सोचेअनुसारकै खेलाडी पाएका छौं । राम्रा खेलाडी भएकाले टोली सन्तुलित बनेको छ । हाम्रो लक्ष्य उत्कृष्ट प्रदर्शन गर्ने हुनेछ ।’
मधेश युनाइटेडमधेशले मार्की खेलाडीमा निरुता ठगुन्नालाई निरन्तरता दिँदा प्रशिक्षक भने परिवर्तन गरेको छ । टोलीले भरत यादवको स्थानमा कोपिला उप्रेतीलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । उप्रेती लिगकी एकमात्र महिला प्रशिक्षक हुन् ।
मधेशले अक्सनबाट आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट, बबिता बोहरा, वसन्ती साउद र स्नेहा ठगुन्नालाई भित्र्याएको छ । गत संस्करण निकै खराब प्रदर्शन गरेको मधेश अन्तिम स्थानमा थियो ।
टोलीकी मार्की निरुता अक्सनमा सोचेअनुसार खेलाडी नपाए पनि विदेशी खेलाडीसँग सन्तुलन मिलाएर यस पटम उत्कृष्ट प्रदर्शन गर्ने बताउँछिन् । ‘अक्सनमा हामी अलि अभागी साबित भयौं । आफूले चाहेको खेलाडी पनि लक्की ड्रमा अन्त जाँदा अलिकति नमज्जा लाग्यो । अघिल्लो संस्करणमा विदेशी खेलाडीसँग तालमेल नमिल्दा सोचेअनुसार नतिजा आउन सकेन । यस पटक सबै कुरालाई सन्तुलित गर्दै उत्कृष्ट प्रदर्शन दिने छौं ।’
लुम्बिनी लाभाज
लुम्बिनी इडब्लुभिएको नयाँ टोली हो । गत संस्कण खेलेको चितवन शक्तिले यस पटक सहभागिता नजनाउने भएपछि लुम्बिनीले मौका पाएको हो । टोलीले प्रशिक्षकमा अर्जुन घिमिरे र मार्कीमा अरुण शाहीलाई भित्र्याएको छ । दुवैले गत संस्करणमा चितवनको प्रतिनिधित्व गरेका थिए ।
लुम्बिनीले अक्सनबाट कामना विष्ट, अलिशा मानन्धर, शान्तिकला तामाङ, जेनिशा विश्वकर्मा, रोमा महतो, रिक्जना भोटे र अनुष्का चौधरीलाई भित्र्याएको छ ।

टोलीकी मार्की खेलाडी अरुणा टोली दोस्रो संस्करणका लागि उत्साहित रहेको बताउँछिन् । ‘पहिलो पटक अक्सनमा बस्दाको अनुभव रमाइलो भयो । आफूले चाहेका खेलाडी नपाउँदा भने केही नराम्रो लाग्ने रहेछ । तर टोली सन्तुलित बनेको छ । लिग पोखरामा हुँदै छ भन्ने कुराले म अझै उत्साही छु ।’
पोखरा निन्जाजयस पटक यो फ्रेन्चाइज टोलीले दोस्रो संस्करणका लागि आफ्नो नाम र मार्की खेलाडी परिवर्तन गरेको छ ।
गत संस्करणमा चौथो भएको टोली गण्डकी थन्डर्सबाट पोखरा निन्जाज बन्दा मार्कीमा सरस्वती चौधरीको स्थान प्रगति नाथले लिएकी छन् । प्रगति यो पहिलो पटक मार्कीको भूमिकामा देखिन लागेकी हुन् । प्रशिक्षकमा रुपेशकुमार विष्टलाई नै निरन्तरता दिएको पोखराले अक्सनबाट पुनम चन्द, मीना सुनार, सुनिता खत्री, गरिमा बोहरा, अञ्जिला प्रधान, निशा महर र भावना तामाङलाई भित्र्याएको छ ।
पोखराकी मार्की प्रगति प्रतियोगिता घरेलु कोर्टमा हुने हुँदा उत्साहित रहेको तर्क गर्छिन् । ‘अक्सनबाट सोचेका केही खेलाडी पाउन सकेनौं । तर टोली सन्तुलित बनेको छ । खेल पोखरामै हुँदै छ । घरेलु समर्थक अगाडि खेल्ने निकै उत्साही छु ।’
काठमाडौं स्पाइकर्स
तेस्रो स्थानमा रहेर गत संस्करणको अन्त्य गरेको काठमाडौंले मार्कीमा उषा भण्डारीलाई निरन्तरता दिएको छ । प्रशिक्षकमा जगदीशप्रसाद भट्टको स्थान लोकेश बुढाले लिएका छन् । भट्ट प्रतियोगिताको डाइरेक्टर भएकाले उनले काठमाडौंको प्रशिक्षक छोडेका हुन् ।
काठमाडौंले अक्सनबाट कविता भट्ट, मनीषा चौधरी, यमुना रसाइली, रीमा कुँवर, वाल्मीका आचार्य, कमला पुन र आशिका क्षेत्रीलाई अनुबन्ध गरेको छ ।

काठमाडौंकी मार्की उषा भण्डारी अक्सनबाट चाहेअनुसार खेलाडी पाएको बताउँछिन् । ‘हामीले अक्सनबाट चाहेअनुसारकै खेलाडी पायौं । गत संस्करण हामी फाइनल नजिक पुगे पनि निराश बन्नुपरेको थियो । तर यस पटक त्यसलाई पूरा गर्नेछौं । हामी राम्रा विदेशी खेलाडी भित्र्याएर टोली सन्तुलित बनाउने छौं ।’