काठमाडौं । माथिल्लो उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितालाई सिनियर टोलीको प्रवेशद्वारको रूपमा लिइन्छ । भविष्यका स्टारहरू जन्मिने मञ्च हो, उमेर समूहका प्रतियोगिता । अझ यु-१९ भन्दा माथिका प्रतियोगिता त खेलाडीका लागि राष्ट्रिय टिमको ढोका खोल्ने साँचो हो ।
आइतबार बंगलादेशको राजधानी ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-२० च्याम्पियनसिप सम्पन्न भयो । डबल राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि चार टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल अंकतालिकाको दोस्रो स्थानमा रह्यो ।
नेपाली युवा टोलीले त्यहाँ उपाधि जित्न सकेन । तर टोलीका केही खेलाडीले आफूलाई छिट्टै राष्ट्रिय टोलीको हिस्सा बन्न सक्ने प्रस्ट संकेत दिए । खासमा युवा प्रतियोगिता भनेको आफैमा खेलाडीको विकास प्रक्रिया हो । जसमा नेपाली टोली खरो साबित भयो ।
अमिषा, प्रीति, दीपा, सरस्वती, मनमाया र प्रतिक्षाले दुई वर्ष अघिसम्म पनि उमेर समूहमा देशको प्रतिनिधित्व गरिरहेका थिए ।
प्रतियोगिताले छैटौं संस्करण पार गर्दा देशले केही होनहार प्रतिभा चिन्ने मौका पाएको इतिहास छ । रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता रानामगर, चन्द्रा भण्डारी, प्रीति राई, अमिषा कार्की, दीपा शाही अनि पछिल्लो समय सरस्वती हमाल, प्रतिक्षा चौधरी र मनमाया दमाईहरू सबै उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा गरेका खेलाडी हुन् ।

यी सबै खेलाडी उमेर समूहमा देशको प्रतिनिधित्व गर्दा टिमका प्रमुख खेलाडी थिए । वर्तमान सिनियर राष्ट्रिय टोलीको कुरा गर्ने हो भने रेखा, प्रीति, रश्मी र सविता सबै स्टार खेलाडीको नाम हो ।
रेखा भर्खरै संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेलेर फर्किएकी छन् । प्रीति पनि आगामी सिजन जोर्डनको अल इतिहाद क्लबमा खेल्ने पक्का भइसकेको बताइएको छ । त्यस्तै पछिल्लो एन्फा राष्ट्रिय महिला लिगमा ३५ गोल गर्दै रश्मि उच्च गोलकर्ता बनेकी थिइन् भने सविताले ‘मोस्ट भ्यालुएबल प्लेयर’को पुरस्कार जितिन् ।
नेपालले ढाकामा यसपालि दुई खेलमा हार बेहोर्यो । दुवै हार च्याम्पियन बंगलादेशविरुद्ध थियो ।
दीपा र अमिषाले पनि राष्ट्रिय टोलीमा नभई नहुने खेलाडीका रूपमा आफूलाई स्थापित गरिसकेका छन् । पछिल्लो समय दीपा चोटका कारण मैदान बाहिर छन् भने अमिषा कार्की सह-सेनानीको तालिममा छन् । दुवै गत वर्ष काठमाडौंमा आयोजित साफ च्याम्पियनसिपयता राष्ट्रिय टोलीमा छैनन् ।
तीन साताअघि उज्वेकिस्तानको राजधानी तास्केन्दमा सम्पन्न एएफसी एसियन कप छनोटमा मिडफिल्डर सरस्वती हमालले नयाँ प्रशिक्षक प्याट्रिक डी वाइल्डको नेतृत्वमा समूहका तीनवटै खेलमा पहिलो रोजाइमा मौका पाइन् । सबै खेलमा उनले पूरा ९० मिनेट मैदानमा बिताएकी थिइन् । मनमायाले पनि अन्तर्राष्ट्रिय ‘डेब्यू’को अवसर प्राप्त गरिसकेकी छन् । प्रतीक्षाले सिनियर टोलीको जर्सी लगाउन बाँकी छ ।

अमिषा, प्रीति, दीपा, सरस्वती, मनमाया र प्रतिक्षाले दुई वर्ष अघिसम्म पनि उमेर समूहमा देशको प्रतिनिधित्व गरिरहेका थिए । यी सबै अहिले नेपाली महिला टोलीको ‘गोल्डेन जेनेरसन’का हिस्सा हुन् ।
नेपालले ढाकामा यसपालि दुई खेलमा हार बेहोर्यो । दुवै हार च्याम्पियन बंगलादेशविरुद्ध थियो । ती हार वास्तवमै पीडादायी थिए । जसले नेपाली महिला फुटबलको वास्तविक चित्र देखाइदिएको थियो । एउटा सकारात्मक पक्ष चाहिँ के भने नेपालले ६ खेलमा प्रतिखेल ५ का दरले कुल ३० गोल गर्यो । ३० मध्ये २८ गोल तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध भएका थिए ।
बंगलादेश भ्रमणबाट नेपाली फुटबलले पाएको सफलता यही हो । नेपाली महिला फुटबलले दुई युवा स्टारलाई चिन्ने मौका पायो ।
दुई वर्षअघि सम्पन्न साफ यु-२० च्याम्पियनसिप खेल्नुअघि नै प्रीति, अमिषा र दीपाले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरिसकेका थिए । यसपालिको टोलीमा भने राष्ट्रिय टोलीको अनुभव लिइसकेका खेलाडी थिएनन् ।
अघिल्लो संस्करणमा दुई हार भोगेपछि नेपाल फाइनल खेल्नबाट वञ्चित भएको थियो । त्यतिबेला पनि नेपाली टिममा राष्ट्रिय टिमको अनुभव भएका कोही खेलाडी थिएनन् । तीन खेलमा नेपालले २ गोलकाविरुद्ध ७ गोल खाएको थियो । त्यही टोलीका १५ सदस्य यसपालि टोलीमा थिए । त्यसैले टोलीमाथि ठूलो आशा थिएन । तर, बंगलादेशविरुद्धको निर्णायक तथा अन्तिम खेलअघि आसलाग्दा प्रतिभाले फुटबल सरोकारवालाहरूको ध्यान तान्यो ।

स्ट्राइकरद्वय पूर्णिमा राई र मीना देउवा फरक लयमा देखिए । दुवैको नाममा कुल १७ गोल रह्यो । प्रतियोगिताकै उच्च गोलकर्ता बनेकी पूर्णिमाले १० गोल आफ्नो नाममा लेखाइन् । पूर्णिमा र मीना दुवैले प्रतियोगितामा २ ह्याट्रिक गरे ।
अब नेपाली टोलीलाई पूर्णिमा र मीनाको पनि भर हुने अनुमान गर्न सकिन्छ ।
बंगलादेश भ्रमणबाट नेपाली फुटबलले पाएको सफलता यही हो । नेपाली महिला फुटबलले दुई युवा स्टारलाई चिन्ने मौका पायो ।
डेढ दशकअघि नेपाली महिला फुटबल बामे सर्दै गर्दादेखि अहिलेको चलायमान अवस्थासम्म आइपुग्दा राष्ट्रिय टोलीले स्ट्राइकरको अभाव कहिल्यै महसुस गर्नुपरेको छैन ।
पूर्वकप्तान अनु लामा गजबकी स्ट्राइकर थिइन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने अनु आफ्नो अन्तर्राष्ट्रिय करियरको उत्तरार्धमा रहँदा सावित्रा भण्डारीले जादु देखाउन थालिसकेकी थिइन् । अनुलाई नै ‘आइडल’ मान्ने सावित्रा दक्षिण एसियामा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । सावित्रासँगै नेपालसँग रेखा, रश्मि र अमिषाको भरपर्दो विकल्प छ । अब नेपाली टोलीलाई पूर्णिमा र मीनाको पनि भर हुने अनुमान गर्न सकिन्छ ।
त्यस्तै अट्याकिङ मिडफिल्डरद्वय सेनु परियार र सुक्रिया मिया, कप्तान तथा सेन्ट्रल मिडफिल्डर विर्सना चौधरी र सेन्टर ब्याक सिमरन राईलाई छिट्टै राष्ट्रिय टोलीमा देख्न सकिने प्रतिभाका रूपमा हेरिएको छ ।