काठमाडौं । मछिन्द्र फुटबल क्लब एन्फा यु-१६ युथ लिगमा बिहीबार संकटा क्लबविरुद्ध २-१ को पुनरागमन जित दर्ता गरेको छ ।
जितसँगै आठ खेलमा १७ अंक जोडेको मछिन्द्र तेस्रो स्थानमा उक्लिएको छ । पराजित संकटा समान खेलबाट १८ अंकका साथ दोस्रो स्थानमा कायम छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन राहुलकुमार योञ्जन र गोविन्द विकले गोल गरे । संकटाका लागि पेम्बा तामाङले गोल गरे ।
खेलको ३३औं मिनेटमा पेम्बाको गोलमार्फत संकटाले अग्रता लिएको थियो । तर टोलीले दोस्रो हाफमा भने त्यसलाई जोगाउन सकेन ।
राहुलले ४८औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई बराबरीमा ल्याए । निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा गोविन्दले गोल गर्दै मछिन्द्रलाई रोमाञ्चक पुनरागमन जित दिलाए ।
बिहीबारै सम्पन्न खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले न्यु रोड टिम (एनआरटी) विरुद्ध १-० को जित दर्ता गर्यो ।