काठमाडौं । हिमालयन शेर्पा क्लबले एन्फा यु-१६ युथ लिगमा पहिलो जित दर्ता गरेको छ ।
हिमालयन शेर्पाले सातदोबाटोस्थित एन्फ मुख्यालय मैदानमा श्री भगवती क्लबविरुद्ध ३-१ को जित निकाल्यो ।
जितसँगै हिमालयन शेर्पाले दुई खेलमा तीन अंक जोडेको छ । दुवै खेलमा पराजित श्री भगवती अंकविहिन छ ।
पहिलो खेलमा हिमालयन शेर्पाले आर्मी तथा श्री भगवतीले मनाङ मर्स्याङ्दीसँग हार बेहोरेका थिए ।
हिमालयन शेर्पालाई जित दिलाउन कप्तान प्रदीप खत्री, विष्णु सुनुवार र जेनिल सुब्बाले गोल गरे । श्री भगवतीका लागि अनिल गुरुङले गोल फर्काए ।
खेलको ३०औं मिनेटमा प्रदीपको गोलमार्फत हिमालयन शेर्पाले अग्रता लिएको थियो । १० मिनेटपछि नै विष्णुले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
जेनिलले ६२ औं मिनेटमा गोल गर्दा हिमालयन शेर्पा ३-० ले अगाडि बढ्यो । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा अनिलले गरेको गोल श्री भगवतीका लागि सान्त्वना बन्यो ।