काठमाडौं । इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा आइतबार न्यु योर्क रेडबुल्स एफसीविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।
जितसँगै १० खेलमा २१ अंक जोडेको मियामी इस्टर्न कन्फिरेन्सको चौथो स्थानमा छ । पराजित न्यु योर्क ११ खेलबाट १५ अंकका साथ नवौं स्थानमा छ ।
चेज रंगशालामा घरेलु टोलीलाई जित दिलाउन फाफा पिकाल्ट, मार्सेलो वेइगान्ड, लुइस स्वारेज र कप्तान लियोनल मेसीले गोल गरे । न्यु योर्कका लागि एरिक म्याक्सिम चुपो मोन्टिङले गोल फर्काए ।
खेलको नवौं मिनेटमै पिकाल्टको गोलमार्फत मियामीले अग्रता लिएको थियो । ३०औं मिनेटमा वेइगान्डले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसको ९ मिनेटपछि नै स्वारेजले गोल गर्दा मियामी ३-० ले अगाडि बढ्यो । पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा मोन्टिङले न्यु योर्कका लागि एक गोल फर्काए ।
मेसीले ६७औं मिनेटमा गोल गर्दा मियामीले ४-१ को सहज जित निकाल्यो ।