काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी फुटबल क्लबले नयाँ मुख्य प्रशिक्षकको रूपमा भुटानका पुष्पलाल शर्मालाई नियुक्त गरेको छ।
बुटवलले एनएसएलको तेस्रो संस्करणमा टोलीको प्रशिक्षण जिम्मेवारी शर्मालाई सुम्पिएको जानकारी दियो । एएफसी प्रो लाइसेन्स प्राप्त शर्मा यसअघि भुटानको पारो एफसीका प्रमुख प्रशिक्षक तथा प्राविधिक निर्देशकका रूपमा कार्यरत थिए ।
प्रशिक्षक शर्माको आगमनले टोलीलाई अझ संगठित, प्रतिस्पर्धात्मक, रणनीतिक रूपमा सबल बनाउनुका साथै युवा खेलाडीको प्रतिभा पहिचान, प्रशिक्षण संरचना सुधार,तथा खेलाडीको दीर्घकालीन उन्नतीमा सहयो पुर्याउने अपेक्षा बुटवलको छ ।
बुटवलले एनएसएलको तेस्रो संस्करणका लागि मिडफिल्डर एरिक विष्ट, फरवार्ड निराजन धामी र रक्षक सरोज तामाङलाई रिटने गरिसकेको छ । यसैगरी बुटवलले यस पटक विंगर मनिष डाँगीलाई मार्की खेलाडीका रूपमा भित्र्याएको छ ।
एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ । यसपल्ट बुटवलसहित साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, एफसी चितवन र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।