काठमाडौं । सानो गौचरण अर्थात नेपाली फुटबलको इमोसन । प्यासनेट युवाको प्रतीभा निखारेर देशका लागि सक्षम खेलाडीमा रुपान्तरण गर्ने साझा मैदान ।
नाम कहलिएका नेपाली खेलाडीको जन्मथलो र कर्मथलो हो गौचरण मैदान । यही मैदानमा बगाएको पसिनाले त हो, २००० को दशकमा देशले स्टार भन्न लायकका प्रतीभालाई जन्माएको । ९० को सुरुआती दशकमा विराटजंग शाही, मणि शाहदेखि वसन्त थापा, वसन्त गौचन, राजन रायमाझी, कुमार थापा, नवीन न्यौपाने, राजेश शाही, विकास मल्ल, सागर थापा अनि पछिल्लो पुस्तामा सुजल श्रेष्ठ र अञ्जन विष्टसम्मको कर्मथलो हो गौचरण ।
काठमाडौंको होहल्लाबीच पर्खालले घेरिएको बलौटे मैदान अनि करिब एक हजार हाराहारी समर्थक अट्ने ढलाने प्यारापिट । अन्तर विद्यालय कोकाकोला कप, भेट्रान्स फुटबल प्रतियोगिता, जिल्लास्तरीय फुटबल खेलहरु अनि विभिन्न टोलीको प्रशिक्षण केन्द्र हो गौचरण । चर्को घाम हुँदा धुलाम्मे मैदानमा खेल्नुपर्ने बाध्यता अनि मुसलधारे पानी पर्दा हिलाम्मे छिटाबीच चिप्लिएर घाइते हुने जोखिम । यही हो गौचरणको परिचय । पर्खालमा ठूलो अक्षरमा लेखिएको ‘सानो गौचरण फुटबल मैदान’ अनि जस्ताको छानोले पनि गौचरणको परिचयमा वजन दिन्छ ।
तर अब त्यो परिचय फेरिँदैछ । नेपाली फुटबलको स्वस्फूर्त ग्रासरुट गतिविधिस्थलले अब नयाँ स्वरुप पाउँदैछ । मैदानले पूरै मुहार फेर्दैछ । गौचरणको मुहार परिवर्तनको अभियान थालिएको तीन महिना भयो । पुर्ननिर्माणको चटारोसँगै काम चलिरहँदा अचेल सानो गौचरण कुनै ठूलो कन्स्ट्रक्सन भेन्युजस्तो देखिन्छ ।

महानगरको खेलकुद पूर्वाधारको स्वर्णीम गौरव आयोजना अन्तर्गत सबै ३२ वडामा आवश्यक खेल मैदान निर्माण गर्ने योजना बनेको थियो । यही योजनाअन्तर्गत सानो गौचरण मैदान व्यवस्थित तवरले पूर्णनिर्माणको क्रममा छ । गत मंसिर १६ मा महानगरकी उप–प्रमुख सुनिता डंगोलबाट पुननिर्माण कार्यको शिलन्यास गरिएको थियो । अहिले धमाधम निर्माण कार्य भइरहेको छ ।
बोलपत्रमार्फत १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँमा पुनःनिर्माणको जिम्मेवारी पाएको शुभ कन्स्ट्रक्सन प्रा.लिले तोकिएको मितिभन्दाअघि नै मैदान महानगरलाई हस्तान्तरण गर्ने योजना रहेको बताएको छ । मैदान पुनः निमार्णको काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।
निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । यसमा १६ आवेदकले प्रस्ताव पेश गरेका थिए । अन्त्यमा शुभ कन्स्ट्रक्सन प्रा.लि.ले यो जिम्मेवारी प्राप्त गरेको थियो ।
१८ रोपनी १ आना २ पैसा ३ दाम (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुने मैदानको दर्शक क्षमता १ हजार ५०० हुनेछ । ९६ मिटर लम्बाइ र ६२ मिटर चौडाइको खेल मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमाना पर्खाल हुनेछ । एकातर्फ प्यारापिट बनाइनेछ भने बाँकी तीनतिर दुई मिटरसम्म पर्खाल र त्योभन्दा माथि तारजालीले घेरिनेछ ।

‘प्यारापिटमुनी एउटा फिजियोथेरापी कक्षका साथै महिला तथा पुरुषका लागि ३/३ वटा चेन्जिङ रुम, एउटा प्राथकिक उपचार कक्ष र दुई वटा टिम लकर रुमको पनि सुविधा हुनेछ । यसैगरी महिला र पुरुषका लागि पर्याप्त मात्रामा शौचालयको पनि व्यवस्था हुनेछ,’ शुभ कन्स्ट्रक्सन प्रा.लि.का प्रोजेक्ट म्यानेजर सन्दीपराज श्रेष्ठ भन्छन्, ‘प्यारापिट मुनिको ठाउँलाई पार्किङका लागि पनि प्रयोग गरिने मास्टर प्लानमा उल्लेख छ । जहाँ सय देखि डेढ सय दुुई पाङग्रे र २० देखि ३० वटा चार पाङग्रे सवारी साधन अटाउनेछ ।’
खेलाडी डटकमको टिम मैदान रिपोर्टिङको लागि जाँदा जमिन मुनि फाउन्डेसन अनि लोअर पाइलिङको काम भइरहेको थियो । कम्पनिले फागुनभित्र मैदान लेभल कास्टिङको काम सकाएर टर्फको काम सुरु गर्ने योजना रहेको जानकारी गराएको थियो ।
मैदानको पुननिर्माण सुरु भएदेखि नै महानगरको टोलीले प्रत्यक्ष रुपमा निगरानी गरिरहेको छ । जसले काम गर्ने कर्मचारीलाई पनि हौसला मिलेको छ । महानगर पनि कामको गति देखेर दंग छ ।प्रोजेक्ट म्यानेजर श्रेष्ठ भन्छन्, ‘महानगरको टोली दैनिक रुपमै निगरानीका लागि आउने गर्छन् । उपमेयर सुनिता (डंगोल) ज्यू पनि बेलाबखत आइरहनुहुन्छ । उहाँहरु आउँदा कार्यशैलीको प्रशंसा गरेर जानुहुन्छ । जसले गर्दा हामीलाई हौसला मिलेको छ ।’
महानगरको खेलकुद योजनाका कन्सल्टेन्ट तथा फुटबल मैदान विज्ञ थमन भुषाल भन्छन्, ‘यो मैदानले दीर्घकालिन रुपमा राष्ट्रका लागि निकै ठूलो असर गर्नेछ । यो मैदान महानगर र मेयरको तर्फबाट नेपाली फुटबललाई सुन्दर उपहार हो ।’