फाल्गुन १०, २०८१ शनिबार | १४:३४:५४
भरत र विशालले एनएसएल गुमाउने दीप विश लिस्टमार्फत टेकेन्द्रसम्मिलित बुटवल पुगे सन्तोष किन्न ललितपुर र पोखराको होडबाजी सुमितलाई लगायो पाँच टोलीले बोली, भाग्यशाली रह्यो चितवन विकेशपछि दीप पनि अनसोल्ड धनगढी गए विवेक काठमाडौं लागे अन्जल, सुरज जिउले पोखराबाटै खेल्ने भरतलाई कुनै पनि टोलीले बोली लगाएन जिलेस्पी काठमाडौंको जर्सीमा देखिने ललितपुर फर्किए नवीन भरत र विशालले एनएसएल गुमाउने दीप विश लिस्टमार्फत टेकेन्द्रसम्मिलित बुटवल पुगे सन्तोष किन्न ललितपुर र पोखराको होडबाजी सुमितलाई लगायो पाँच टोलीले बोली, भाग्यशाली रह्यो चितवन विकेशपछि दीप पनि अनसोल्ड धनगढी गए विवेक काठमाडौं लागे अन्जल, सुरज जिउले पोखराबाटै खेल्ने भरतलाई कुनै पनि टोलीले बोली लगाएन जिलेस्पी काठमाडौंको जर्सीमा देखिने ललितपुर फर्किए नवीन
शनिबारको दिन आहारारा गोल्डकप

आहारारा गोल्डकप: पोखरेलीको इमोसन

काठमाडौं । आहारारा गोल्डकपका सुरुआति संस्करणहरु अचेल पनि पोखरेली दर्शकको मानसपटलमा ताजै छन् ।

राष्ट्रिय टोलीका तत्कालिन स्टार देवनारायण चौधरी विभागीय टोली महेन्द्र पुलिस क्लब (अहिले नेपाल पुलिस)को जर्सीमा मैदानमा डटिरहेका हुन्थे । निक्कै जुझारु र मेहनती खेलाडीको छवि भएका देवनारायण उतिबेलाको फुटबलमा भरपर्दा खेलाडीमध्ये एक थिए ।

अट्याकिङ डिफेन्डरको भूमिकामा खेल्ने देवनारायणबाट लगातार गोलहरू निस्किइरहन्थे । ०५९ सालमा त देवनारायणकै निर्णायक गोलमा पुलिसले कुपण्डोलको फ्रेन्ड्स कलबलाई पराजित गरेर लगातार दोस्रो पटक प्रतियोगिताको उपाधि जितेको थियो । त्यतिबेला सेमिफाइनलमा उनकै दुई गोलमा एन्फा एकेडेमी पुलिससँग २-१ ले निराश भएको थियो ।

पहिला रंगशालामा सुविधा थिएन । गतिला प्यारापिट थिएनन् । मुस्किलले ५/६ हजार दर्शकमात्र अटाउने प्यारापिट भए पनि २० हजार हाराहारीमा दर्शक उपस्थित हुन्थे । मैदान बाहिरको चउरमै बसेर पनि दर्शकले फुटबलको मज्जा लिन्थे । 

सहारा फुटबल क्लबले वर्षेनी आयोजना गर्दै आएको आहारारा पोखरा गोल्डकपले गत शनिबार मात्र २४औं संस्करण पार गर्यो । फाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स क्लबले पुलिसलाई ३-१ ले पराजित गर्दै पहिलो सहभागितामै उपाधि जित्यो । ११औं फाइनल खेलिरहेको पुलिस र्कीतिमानी सातौं उपाधि जित्ने उद्धेश्यका साथ मैदान उत्रिएको थियो । यद्यपि पुलिस बलियो उज्वेक टोली अगाडि अन्डरडग थियो ।

नेपाल पुलिसका डिफेन्डर देवनारायण चौधरी (पहेँलो) बल अगाडि बढाउँदै, उनलाई रोक्ने प्रयासमा विराज महर्जन  तस्विर सौजन्यः सुदर्शन रञ्जित ।

खेल चलिरहँदा घरेलु समर्थक गोविन्द बराल देवनारायणलाई सम्झिँदै नोस्टाल्जिक भए । तन्नेरी अवस्थामा देवनारायण, हरि खड्का, अनिल अधिकारी, रमेश बुढाथोकी, दीपक पौडेल, दीपेन्द्र पौडेल र राजु पुलामीलगायतका खेलाडीले भरिभराउ पुलिसलाई हेरेर हुर्केका बराल पुलिसको पछिल्लो अवस्था देखेर दुःखी त थिए नै, विगतका दिनमा खचाखच दर्शक उपस्थितीका कारण पाउने रोमाञ्च पनि अचेल घटेले उनलाई चिन्तित बनाएको थियो ।

पहिला रंगशालामा सुविधा थिएन । गतिला प्यारापिट थिएनन् । मुस्किलले ५/६ हजार दर्शकमात्र अटाउने प्यारापिट भए पनि २० हजार हाराहारीमा दर्शक उपस्थित हुन्थे । मैदान बाहिरको चउरमै बसेर पनि दर्शकले फुटबलको मज्जा लिन्थे । कहिलेकाँही ट्रयाकमै मोटरसाइकल र घोडा लिएर छिर्ने दर्शकका कारण माहोल थप रोमाञ्चक बन्थ्यो ।

अहिले रंगशालाले आधुनिक रुप लिइसकेको छ । १६ हजार दर्शकलाई सुविधासम्पन्न सिटको व्यवस्था छ । मैदान पनि अद्यावधिक छ । तर फुटबल क्रेजी पोखरामा आहारारा गोल्डकपजस्तो देशकै सबभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिता हुँदा पनि दर्शकका खुट्टा रंगशालातिर सोझिइरहेका छैनन् । प्यारापिटका सिट फाइनलमा समेत भरिदैन ।

बाझा पाटन निवासी रोशन गुरुङले भने चाहेर पनि छोरालाई मैदानमा ल्याउन सकेनन् । मनाङ मर्स्याङ्दीका ‘डाइ हार्ड’ फ्यान गुरुङका छोरा अहिले सुनौलो भविष्यको खोजीमा विदेश पलायन भइसकेका छन् ।

‘पहिले देवनारायण (चौधरी)को हेडर यो रंगशालामा हेरिन्थ्यो । अहिले उहाँ जस्तो खेलाडी भेट्टाउन गाह्रो छ । पोखरा रंगशाला आउँदा मलाई सँधै पहिलेको फुटबल झलझली आँखामा आउँछ । तर, उहाँको जस्तो हेडर र सट अहिलेका खेलाडीमा देख्न पाउँदिन,’ बराल भन्छन्, ‘पहिले खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो । अहिले दर्शकको उपस्थिति दयालाग्दो छ ।’

पोखरा रंगशालामा घोडा लिएर खेल हेर्न आउँदै दर्शक, तस्विरः सुदर्शन रञ्जित ।

फाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमानका साथ बिरौटा घर भएका बरालले छोरा आकृष्टलाई पनि सँगै रंगशाला ल्याएका थिए । तर, खेल एकतर्फी भयो । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीका फ्यान आकृष्टलाई बुवा गोविन्दले केही स्मरणीय यादहरु आत्मसात गर्न रंगशाला ल्याएका थिए । उनी भन्थे, ‘छोरालाई फुटबलप्रति एकदमै लगाव छ । फुटबलका बारेमा मलाईभन्दा उसलाई धेरै थाहा छ ।’

आकृष्ट सायद टेलभिजनमा देखिएका, नाम सुनिएका कहलिएका स्टार खेलाडीलाई देख्न पाउने आशामा बुवासँगै रंगशाला पुगेका थिए । बुवाले खेलाडीलाई चिनाइदिने वाचा गरेका थिए होलान् । तर, यस्तो केही भएन । विगतका दिनमा स्थानीय खेल हुँदा समेत राजुकाजी श्रेष्ठ, छन्नुराम चौधरी, मणि शाह जस्ता चर्चित खेलाडीको खेल प्रत्यक्ष रुपमा हेर्न पाएका बराल दयनीय बन्दै गएको पछिल्लो अवस्थाका बारेमा जानकार छन् । उसोत कुनै बेला देशलाई नै कृष्ण थापा, डम्बरसिंह गुरुङ, वसन्त गौचन, अनिल गुरुङ, विजय गुरुङ, विषन गौचनजस्ता स्टार खेलाडीहरू दिने पोखराले नै पनि पछिल्लो समय त्यस्ता स्टार खेलाडी जन्माउन बिर्सेको छ ।

बाझा पाटन निवासी रोशन गुरुङले भने चाहेर पनि छोरालाई मैदानमा ल्याउन सकेनन् । मनाङ मर्स्याङ्दीका ‘डाइ हार्ड’ फ्यान गुरुङका छोरा अहिले सुनौलो भविष्यको खोजीमा विदेश पलायन भइसकेका छन् । कुनै सयम थियो गुरुङ आफ्ना बुवा र छोरासँगै आएर मनाङलाई समर्थन गर्थे । तर, ती सबै इतिहास भइसके । गुरुङका पिता दिभंगत भइसके । अनि यसपाली त आहारारा गोल्डकपको सबभन्दा सफल क्लब मनाङको सहभागिता नै रहेन ।

आहारारा फगत एउटा गोल्डकप मात्र होइन, नेपाली फुटबलको एउटा बहुमुल्य सम्पत्ति हो । पोखरेली बासिन्दाका लागि चाँही अझ त्योभन्दा बढि हो ।

रंगशालाले रुप फेर्न नपाएकै बेला वसन्त थापा, वसन्त गौचन, राजन रायमाझी, टासी छिरिङ जस्ता खेलाडीलाई ताली र चिच्याहटले हौस्याउने गरेका गुरुङ अहिले ज्ञानी भएर सिटबाट फुटबल हेरिरहेका थिए । उमेर ढल्कँदै जाँदा उनीसँग अरु विकल्प पनि त छैन । आर्थिक बहानामा सहभागिता नजनाएको मनाङले गुरुङ जस्ता समर्थकलाई अन्याय गरेकै हो । तर, गुरुङलाई यसबारे कुनै गुनासो छैन ।

नेपाल पुलिसका फरवार्ड हरि खड्का (सेतो) बल अगाडि बढाउँदै, उनलाई रोक्ने प्रयासमा जावलाखेलका रक्षक सागर थापा, तस्विर सौजन्यः सुदर्शन रञ्जित ।

दर्शकको दयनीय उपस्थितिमा पनि उनी आयोजकलाई दोष दिन चाहँदैनन् । भन्छन्, ‘आयोजकले मात्र के गरोस् ! अहिले सबैको काम हुन्छ । कामले गर्दा आउन नभ्याएको हुन सक्छ । हामी तीन पुश्ता मैदानमा आएर खेलको मज्जा उठाउने बेला भुइँमा बसेर खेल हेर्थ्यौं । विस्तारै प्यारापिट बन्यो । अब सरकारले फ्लड लाइट जडान गर्नुपर्छ ।’

राष्ट्रिय फुटबल टोलीमा अञ्जन विष्ट र हरि खड्कासँगै उच्च गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका खेलाडी हुन् निराजन रायमाझी । गोल्डकपको दोस्रो संस्करण निराजनले फ्रेन्ड्स क्लबबाट खेलेका थिए । सेमिफाइनलमा मनाङलाई ३-० ले निराश पार्दै फ्रेन्ड्सले फाइनलको यात्रा गरेको थियो । फाइनलमा भने पुलिससँग १-० ले पराजित भयो । मनाङविरुद्ध तीनवटै गोल निराजनले गरेका थिए । निराजन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नै चुनिए ।

यिनै निराजनले खेलेको हेर्न लेखनाथ नगरपालिकाका स्थानीय विपीन गुरुङ नियमित रंगशाला पुग्थे । पछि उनलाई स्थानीय ‘स्टार ब्वाय’ अनिल गुरुङको खेल कौशलले तान्यो । आजको दिनसम्म उनले निरन्तर रुपमा प्रतियोगितालाई पछ्याइरहेका छन् । 

उनी भन्छन्, ‘क्याराभान गोल्डकप हुँदा देखि नै हेर्दै आएको छु । मनपर्ने टोलीले जित्दा खुसी लाग्छ । ती त्यस्ता दिन पनि थिए, जतिबेला हामी बस्ने ठाउँ नभएर उभिएरै खेल हेथ्र्यौँ । विडम्बना ! अहिले सुविधा सम्पन्न रंगशाला हुँदा पनि दर्शक खेल हेर्न आउँदैनन् ।’

खचाखच भरिएको पोखरा रंगशाला, तस्विर सौजन्यः सुदर्शन रञ्जित ।

बेगनास ताल नजिकै घर भएका संघर्ष गुरुङ घट्दो क्रेजको कारण महानगरपालिकाको पूर्वाधारलाई मान्छन् । भन्छन्, ‘विदेश पलायन त एउटा कारण भइहाल्यो । बाटो नराम्रो भएर पनि होला मान्छेहरु रंगशाला आउन नचाहेको ।’

देशकै प्रतिष्ठित प्रतियोगिताले आगामी वर्ष रजत जयन्ती मनाउँदैछ । जतिबेला ‘भिजिट पोखरा २०२५’ चलिरहेको हुनेछ । यो त्यस्तो संस्करण हुनेछ, जसले गोल्डकपको आगामी यात्राको नक्सा कोर्न सक्छ ।

क्याराभान गोल्डकपको नाममा सुरु भएको यो प्रतियोगिता विगत १३ वर्षयता आहारारा गोल्डकपका रुपमा सञ्चालन हुँदै आएको छ । बीचमा ५९-६८ सालसम्म प्रतियोगिताको नाम आहा गोल्डकप थियो । तीन वर्षयता यसमा पोखरा पनि थपिएकाे छ ।

आहारारा फगत एउटा गोल्डकप मात्र होइन, नेपाली फुटबलको एउटा बहुमुल्य सम्पत्ति हो । पोखरेली बासिन्दाका लागि चाँही अझ त्योभन्दा बढि हो । यो त सम्पूर्ण पोखरेली वासिन्दाको फुटबल भावना हो । कसैले गोल्डकप सँगसँगै आफ्नो तन्नेरी जीवन बिताए । कसैको व्यावसायिक यात्रा र गोल्डकपको यात्रा सँगसँगै सुरु भएको पनि हुनसक्छ ।

यी र अन्य तमाम चिजबीच देशकै प्रतिष्ठित प्रतियोगिताले आगामी वर्ष रजत जयन्ती मनाउँदैछ । जतिबेला ‘भिजिट पोखरा २०२५’ चलिरहेको हुनेछ । यो त्यस्तो संस्करण हुनेछ, जसले गोल्डकपको आगामी यात्राको नक्सा कोर्न सक्छ । २५ पछि २६औं संस्करण आयोजना हुने कुरा पनि यकिनले भन्न सकिन्न । यस्तो किनभने आयोजक सहारा गत संस्करण करिब १६ लाख घाटामा गएको थियो । यसपालिको हिसाब भने गर्नै बाँकी छ ।

गोलको खुसियाली मनाउँदै नेपाल पुलिस क्लबका जुमानु राई, तस्विरः सुदर्शन रञ्जित ।

सहाराले २०७८ सालमा ‘दुई दशकको फुटबल यात्रा’ नामक पुस्तक सार्वजनिक गरेको थियो । पुस्तकका लेखक हिमेशरत्न बज्राचार्य पछिल्लो अवस्थामा भिन्न मत राख्छन् । भन्छन्, ‘विश्व फुटबल र यसलाई पछ्याउने दर्शकहरु आधुनिक भइसके । यसकारण रंगशालामा उपस्थित भएका दर्शक संख्यालाई मात्र हेरेर फुटबलको स्तर मापन गर्नु एकहिसाबले गलत हुन्छ । किनभने आजभोलि मानिसहरु सहज बाटो रोज्छन् । डिजिटल युगमा घरमै बसेर सञ्चार माध्यममा खेल हेर्ने जमाना आइसक्यो । यी दर्शकलाई चाहिँ नगन्ने ?’

वरिष्ठ फुटबल पत्रकार हिमेशको आग्रह छ, ‘महानगरले भिजिट पोखरा २०२५ मा घरेलु र विदेशी गरि करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यिनै पर्यटकलाई हामीले रंगशाला ल्याउन सक्छौं । यसका लागि आयोजकसँगै सञ्चार माध्यमको पनि उत्तिकै जिम्मेवारी रहन्छ । त्यसैले आजै देखि तयारी थालौं ।’