नेपालगन्ज । नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितासँग बाँके जिल्ला फुटबल संघले सहकार्य गर्ने भएको छ ।
संघको बैठकले नेपालगन्ज रंगशालामा हुन लागेको प्रतियोगितासँग सहकार्य गर्ने निर्णय गर्यो ।अन्तरालको आयोजनामा फागुनमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने भएकोले सहकार्य गरेको बताए ।
‘फुटबलको विकासमा निजी क्षेत्रको पनि महत्वपुर्ण भुमिका रहन्छ । नेपालगन्जमा अन्तरालले गर्ने प्रतियोगिताले यहाँको फुटबल लोकप्रियता र खेलाडी उत्पादनमा सहयोग गर्ने भएकोले सहकार्य गर्ने निर्णय गरेका हौं,’ शाहीले भने ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बाँके जिल्ला फुटबल संघसँगको सहकार्यले प्रतियोगितालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
‘बाँके जिल्ला फुटबल संघ फुटबल खेलाडी र फुटबलकर्मीको अभिभावक हो । संघको सहकार्यले हामीलाई थप उत्साही बनाएको छ । यो सहकार्यले प्रतियोगिताको स्तरलाई बढाउन सहयोग गर्नेछ,’ शाहले भने ।
प्रतियोगितालाई प्रभावकारी बनाउन अन्य तयारीहरु तिव्र गतिमा अगाडी बढिरहेको शाहले जानकारी दिए ।
यो पश्चिम नेपालकै ठुलो प्रतियोगिता हो । यसअघि प्रतियोगिताको लोगो सार्वजनिक भैसकेको छ ।
नेपाली राष्ट्रिय महिला फुटवल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बापो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए ।
आयोजक प्रतियोगितामा नेपाल र भारतका गरि ८ लाई सहभागी गराउने प्रयासमा छ ।