काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को तेस्रो खेलमा भुटानले श्रीलंकाविरुद्ध ४-१ को जित हासिल गरेको छ । जितसँगै भुटान अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानलाई जित दिलाउन देकी लाजाेमले दुई तथा देर्जी एडोन र नामगेल देमाले समान एक गोल गरे । श्रीलंकाका लागि कप्तान थुशानी मदुसीकाको गोल सान्त्वना बन्यो ।
पहिलो हाफमा २-१ को अग्रता लिएको भुटानले दोस्रो हाफमा थप दुई गोल गरेको हो । जितसँगै भुटानले दुई खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा भुटानले आयोजक नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।
श्रीलंकाले पहिलो खेलमा माल्दिभ्समाथि १-० को संघर्षपूर्ण जित हासिल गरेको थियो । यो हारले श्रीलंकाको सेमिफाइनल पुग्ने सम्भावनालाई गाह्रो बनाएको छ । श्रीलंकाले अब आफ्नो तेस्रो खेलमा आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ भने भुटानले माल्दिभ्ससँग खेल्नेछ ।
सोमबार खेलको साताै मिनेटमा देकीले नामगेलको कट्ब्याकमा गोल गरेकी थिइन् । राइट साइडबाट नामगेलले दिएको कट्ब्याकमा विपक्षी खेलाडीको निगरानीमा नरहेकी देकीले वान टचमा गोल गरिन् ।
खेलको २३औं मिनेटमा श्रीलंकाले बराबरी गर्यो । पिएम परेराको क्रसलाई भुटानी रक्षक देकी याङ्दोमले क्लियर गर्न नसक्दा कप्तान थुशानीले पहिलो बारमा सुन्दर गोल गरिन् । उनको लोअर प्रहार भुटानी गोलकिपर संगीता मोन्गेरले बचाउन सकिनन् ।
खेलको ३२औं मिनेटमा भुटानले २२ यार्ड नजिकै फ्रिकिक अवसर प्राप्त गर्यो । जसलाई उसले राम्ररी सदुपयोग गर्यो । नाङ्गेल देमाको फ्रिकिक क्रस श्रीलंकाली रक्षकले क्लियर गर्न नसक्दा दोर्जीले त्यसको फाइदा उठाइन् ।
कप्तान पेमा छाेदेन छिरिङको थ्रु पासमा देकीले व्यक्तिगत दोस्रो गोल गर्दा ७८औं मिनेटमा भुटान ३-१ ले अगाडि बढ्याे । त्यसको दुई मिनेटपछि नामगेलले टाेलीका लागि चौंथो गोल गरिन् । नामगेलले पनि पेमाकै थ्रु पासलाई सदुपयोग गरेकी हुन् ।
सोमबार दिनको दोस्रो खेलमा आयोजक नेपालले माल्दिभ्ससँग खेल्दैछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।