काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को तेस्रो खेलमा भुटानले श्रीलंकाविरुद्ध पहिलो हाफमा एक गोलको अग्रता लिएको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानले देकी लाजाेमको गोलमा अग्रता लिएको थियो । श्रीलंकाका लागि कप्तान थुशानी मदुसीकाले बराबरी गोल फर्काएकी थिइन् । पछि दोर्जी एडोनको गोलमा भुटानले पुनः अग्रता लियो ।
खेलको १७औं मिनेटमा देकीले नामगेल देमाको कट्ब्याकमा गोल गरेकी हुन् । राइट साइडबाट नामगेलले दिएको कट्ब्याकमा विपक्षी खेलाडीको निगरानीमा नरहेकी देकीले वान टचमा गोल गरिन् । तर, भुटानको यो अग्रता धेरै बेर टिकेन ।
गोल खाएको पाँच मिनेटपछि नै श्रीलंकाले बराबरी गर्यो । पिएम परेराको क्रसलाई भुटानी रक्षक डिकी याङ्दोमले क्लियर गर्न नसक्दा कप्तान थुशानीले पहिलो बारमा सुन्दर गोल गरिन् । उनको लोअर प्रहार भुटानी गोलकिपर संगीता मोन्गेरले बचाउन सकिनन् ।
खेलको ३२औं मिनेटमा भुटानले २२ यार्ड पर फ्रिकिक अवसर प्राप्त गर्यो । जसलाई उसले राम्ररी सदुपयोग गर्यो । नामगेलको फ्रिकिक क्रस श्रीलंकाली रक्षकले क्लियर गर्न नसक्दा दोर्जीले त्यसको फाइदा उठाइन् ।
भुटानले आफ्नो पहिलो खेलमा आयोजक नेपालविरुद्ध ऐतिहासिक गोलरहित बराबरी खेलेको थियो । श्रीलंकाले भने माल्दिभ्सविरुद्ध १–० को संघर्षपूर्ण जित हासिल गरेको थियो । श्रीलंकाले सोमबार भुटानलाई हराए सेमिफाइनल पुग्नेछ । श्रीलंकालाई हराए भुटानले सेमिफाइनल सम्भावनालाई बलियो पार्नेछ ।
सोमबार दिनको दोस्रो खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।