काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोलीले पोखरा एभेन्जर्सले आफ्नो दोस्रो विदेशी खेलाडीका रूपमा नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई अनुबन्ध गरेको छ ।
पोखराले समाजिक सञ्जालमार्फत २४ वर्षीय डि लिडेलाई अनुबन्ध गरेको जानकारी दियो । डि लिडेले नेदरल्यान्ड्सका लागि ३८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा चार अर्धशतकसहित ६९७ रन बनाएका छन् । यसैगरी उनले ३३ विकेट पनि लिएका छन् ।
यसअघि टोलीले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई भित्र्याएको थियो ।
टोलीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् ।
पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा पोखरासँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।