काठमाडौं । दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले आइसिसी ट्वान्टी २० महिला विश्वकपको ऐतिहासिक उपाधि जितेको छ ।
आइतबार रातिको खेलसँगै महिला विश्वकपले नयाँ च्याम्पियन पाएको हो । यसअघि ६ पटक उपाधि जितेको अस्ट्रेलिया र समान एक पटक उपाधि जितेका वेष्ट इन्डिज र इङ्ल्यान्ड सेमिफाइनलबाट माथि बढ्न सकेनन् ।
दुबईमा भएको फाइनल खेलमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले पाँच विकेट गुमाउँदै एक सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले ९ विकेट गुमाउँदा मात्र एक सय २६ रन बनाएको हो ।
दक्षिण अफ्रिकाको लागि ओपनर तथा कप्तान लौरा वाल्भार्डले मात्रै सर्वाधिक ३३ रन बनाइन् । न्युजिल्यान्डका रोसेमारी मौर र अमेलिया केरले सर्वाधिक तीन विकेट हात पारे ।
यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डको लागि केरले नै सर्वाधिक ४३ रन बनाइन् । ब्रुक हालीडेले ३८ तथा ओपनर सुजी बाटेसले ३२ रनको योगदान गरेका हुन् ।
यस खेलसँगै लगातार दोस्रो पटक फाइनलमा पुगेर दक्षिण अफ्रिका उपाधि बिहिन भएको छ । न्युजिल्यान्ड भने १४ वर्ष पछि फाइनल पुगेर उपाधि जित्न सफल भयो ।