काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सोमबार समूह ‘बी’ का दुई खेल हुँदैछन् ।
पहिलो खेलमा भुटानले श्रीलंकाको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।
समूहको पहिलो खेलमा नेपालविरुद्ध ऐतिहासिक बराबरी खेलेको भुटानले श्रीलंकाविरुद्ध एउटै मात्र लक्ष्य लिएको छ, त्यो हो जति सकिन्छ, त्यति गोल गर्ने । शुक्रबार साफ इतिहासमै पहिलो पटक नेपालविरुद्ध हार टारेको भुटानको मनोबल उच्च छ । भुटान यही मनोबलको फाइदा उठाउँदै विपक्षी पोस्टमा बढीभन्दा बढी गोल गर्न चाहन्छ ।
नेपालविरुद्ध बराबरी खेलेपछि भुटानी मुख्य प्रशिक्षक निकोलो डेमाइनले भनेका थिए, ‘हाम्रो लक्ष्य सेमिफाइनल होइन । हामी यसपालि फाइनल खेल्न नेपाल आएका हौं । त्यसैले बाँकी दुई खेलमा नेपालभन्दा बढी गोल गर्न कोशिस गर्नेछौं । हामी समूहको शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्न चाहन्छौं ।’
तर, डेमाइनले भने जस्तै भुटानलाई श्रीलंकाविरुद्ध त्यति सझिलो छ ? श्रीलंकाले पहिलो खेलमा माल्दिभ्समाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको थियो । जसले श्रीलंकाको सेमिफाइनल यात्रा केही हदसम्म सजिलो बनाएको छ । भुटानलाई हराए उसले अन्तिम चारमा यात्रा गर्नेछ । त्यसैले भुटानलाई त्यति सहज भने हुनेछैन । माल्दिभ्सविरुद्धको जितपछि श्रीलंकाका मुख्य प्रशिक्षक मोहम्मद रुमीले भनेका थिए, ‘यो जितले हामीलाई केही सहज अवश्य भएको छ नकआउटमा स्थान बनाउन । हामीले भुटान र नेपालको खेल हेरेर त्यही अनुसार रणनीति बनाउछौं ।’
नेपाल र भुटानबीचको प्रतिस्पर्धा रुमीले नजिकबाट नियालेका छन् । त्यसैले श्रीलंकाको चुनौती भुटानलाई सहज हुने छैन । यी सबै कुराहरुलाई एक ठाउँ राखेर साफ इतिहासको मात्र कुरा गर्ने हो भने श्रीलंका र भुटान पाँच पटक आमने सामने भएका छन् । जसमा तीन खेल श्रीलंकाको पक्षमा गएको छ । एक खेल भुटानले जित्दा एक खेल बराबरीमा टुंगिएको छ ।
२०१२ र २०१६ मा भुटानलाई समूह चरणमा हराएर श्रीलंकाले सेमिफाइलसम्मको यात्रा गरेको थियो । यो दुई संस्करण मात्र हो, श्रीलंकाले अन्तिम चारमा यात्रा गरेको । तर, भुटान पछिल्लो समय फेरिएको छ । टोली पहिलेको जस्तो रहेन ।
अघिल्लो संस्करण भुटानले दशरथ रंगशालमा श्रीलंकाको पोस्टमा पाँच गोल गरेको थियो । यही नतिजाका कारण भुटानले इतिहासमै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको थियो ।
सेमिफाइनलमा आफ्नो दाबेदारी प्रस्तुत गर्न दुवै टोली मैदानमा सामना गर्नुपर्ने चुनौतीका लागि तयार छन् । खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।