काठमाडौं । पहिलो खेलमा भुटानविरुद्ध निराशजनक बराबरी खेलेको नेपालले सोमबार समूहको दोस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने समूह ‘बी’को यो खेल साँझ ५ः३० बजे सुरु हुनेछ । नेपालले शुक्रबार भुटानविरुद्ध दक्षिण एसियाली फुटबल महासंघ (साफ) इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन गरेको थियो ।
भुटानले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक नेपालविरुद्ध हार टारेको थियो । माल्दिभ्सका लागि पनि प्रतियोगितामा सुखद सुरुआत हुन सकेन । पछिल्ला दुई संस्करणमा जितविहीन माल्दिभ्सले श्रीलंकाविरुद्ध पनि गोलको खडेरी तोड्न सकेन ।
पहिलो हाफमा श्रीलंकाले गरेको एक मात्र गोल निर्णायक बन्दा माल्दिभ्सको हारको श्रृंखला जारी रह्यो । सोमबार पाँच पटकको उपविजेता नेपालविरुद्ध मैदानमा उत्रिरहँदा माल्दिभ्सको लक्ष्य हुनेछ, सकेसम्म हार टार्ने अनि कम्तिमा पनि एक गोल गर्ने ।
नेपाल भने बढीभन्दा बढी गोल गर्ने योजनाका साथ मैदान उत्रिने छ । किनभने, सेमिफाइनल समीकरण अब विगतका संस्करण जस्तो नेपालको हातमा छैन । नेपाललाई डर छ, कतै भुटानले आफूभन्दा धेरै गोल गर्यो भने ?
भुटानका प्रशिक्षक निकोला देइमानले नेपालविरुद्धको खेलपछि भनेका थिए, ‘हामी बढीभन्दा बढी गोल गरेर समूह विजेता बन्न चाहन्छौं ।’ यस्तोमा नेपाललाई अन्य विकल्प छैन । तर, गोल गर्ने कसले त ? फ्रान्सको व्यस्त तालिकाका कारण पहिलो खेलमा अनुपस्थित रहेकी सावित्रा भण्डारी दोस्रो खेलका लागि नेपाल आइसकेकी छन् । मध्यरातको १ बजे आइपुगेकी सावित्रालाई खेलाउने नखेलाउनेमा शंका छ ।
नेपालका प्रशिक्षक राजेन्द्र तामाङले पनि राम्रोसँग बुझेका छन् । अब बाँकी दुईमध्ये एक खेल मात्रै पनि आफ्नो पक्षमा आएन भने टोली समूह चरणबाटै बाहिरिने खतरा छ । त्यसैले उनी जितवाहेक अर्को विकल्प नरहेको बताउँछन् ।
‘अब हाम्रो लक्ष्य भनेको बाँकी दुई खेल जित्नु हुनेछ । यदी एक खेल मात्रै दायाँ-बायाँ भए हामीले अगाडि बढ्न अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । जुन हाम्रो अनुकुल नहुन पनि सक्छ ।’
यसैगरी प्रशिक्षक तामाङ सावित्राले चाहेमा माल्दिभ्सविरुद्ध मैदान उतार्ने बताउँछन् । ‘सावित्रा बिहान नेपाल आइपुग्छिन् । हाम्रो खेल बेलुका छ । उनलाई कम्तीमा पनि १२ घन्टा आमार मिल्छ । यही उनले चाहिन् भने माल्दिभ्सविरुद्ध मैदान उतार्ने छु,’ तामाङले भने, ‘ प्रेसर छ भन्दैमा कुनै रिक्स भने लिने छैन ।’
माल्दिभ्सविरुद्ध नेपालले साफमा तीन पटक खेलेको छ । यी तीन खेलमा नेपालले माल्दिभ्सविरुद्ध २० गोल गरेको छ । सावित्राको नाममा ५ गोल छ । २०१६ संस्करणमा नेपालले माल्दिभ्सलाई ९-० ले पराजित गरेको थियो । त्यही खेलमा त हो, सावित्राले पाँच गोल गरेकी ।
माल्दिभ्स पनि आफ्नो र नेपालको स्तरका बारेमा राम्रोसँग जानकार छ । त्यसैले श्रीलंकाको खेलपछि माल्दिभ्सका मुख्य प्रशिक्षक मोहम्मद निजामले नेपालविरुद्ध सचेत भएर खेल्ने बताएका थिए ।
‘प्रत्येक टोलीको आ-आफ्नौ विशेषता छ । मुख्य कुरा हामी सर्तक रहन आवश्यक छ । पहिला नेपालको खेल हेर्छाैं, अनि योजना बनाउनेछौं,’ निजामले भनेका थिए ।
प्रतियोगिताका बाँकी खेलमा नेपालका दुई प्रमुख खेलाडी रक्षक हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको भने अनुस्थिति रहनेछ । यी दुई खेलाडीले भुटानविरुद्धको खेलमा उनीहरु घाइते भएका थिए । दुवैको घुँडामा गम्भिर चोट लागेको छ ।