काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले सेभियाविरुद्ध ५–१ को जित निकालेको छ । घरेलु मैदानमा रोबर्टाे लेवान्डोस्की र पाब्लो टोरे चम्किएपछि बार्सिलोनाले सहज जित निकाल्यो ।
बार्सिलोनाको नवौं जितमा लेवान्डोस्की र पाब्लो टोरेले समान दुई गोल गरेका थिए । पेड्रीको नाममा एक गोल रह्यो । सेभियाका स्टानिस इडुम्बोले एक गोल फर्र्काएका हुन् ।
१० मध्ये ९ खेल जितेको बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकका प्रष्ट अग्रता बनाएको छ । उसको २७ अंक छ । दोस्रो स्थानको रियाल मड्रिडको २४ अंक छ । २० अंकसहित एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ । सेभिया १२ अंकसहित १३औं स्थानमा छ ।
ओलम्पिक मैदानमा ४७ हजार समर्थकमाझ बार्सिलोनाले २४औं मिनेटमै लेवान्डोस्कीको गोलबाट अग्रता बनायो । कप्तान राफिन्हालाई बक्सभित्र पाउल गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो । जसमा लेवान्डोस्की सफल भए ।
लामिन यमलको पासमा पेड्रीले २८औं मिनेटमा सानदार गोल गर्न सफल भएका थिए । राफिन्हाकै पासमा लेवान्डोस्कीले ३९औं मिनेटमा गोल गर्दा बार्सिलोना पहिलो हाफमै ३–० को अग्रता बनाउन सफल भयो ।
८२औं मिनेटमा टोरेले चौथो गोल गरे । ८७औं मिनेटमा स्टानिसले एक गोल फर्काएका थिए । तर, टोरेले एक मिनेटपछि नै अर्काे गोल गर्दै बार्सिलोनालाई ५–१ को सहज जित दिलाएका हुन् ।
राति नै भएको खेलमा एट्लेटिको मड्रिडले लेगानेसलाई ३–१ ले हरायो । भिल्लारियाल र गेटाफेले भने १–१ को बराबरी खेलेका छन् ।