रुपन्देही। भारतको लाइफ केयर क्रिकेट क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा लाइफ केयरले घरेलु टाेली नेक्सस रुपन्देही-११ लाई सात विकेटले पराजित गर्यो।
नेक्सस रुपन्देहीले प्रस्तुत गरेको १३४ रनको लक्ष्य लाइफ केयरले मात्र ३ विकेट क्षेतीमा ३.३ ओभर बाँकी रहँदै भेटायो ।
लाइफ केयरका लागि दिपक पुनियाले ४३ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । राजेश शर्माले अविजित ३७ रन तथा विपुल कम्बोजले ३२ रन बनाए ।
नेक्ससका लागि शाहब आलमले दुई तथा बसिर अहमएले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेक्ससले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।
नेक्ससका लागि आकाश त्रिपाठीले सर्वाधिक ४८ तथा सुमित महर्जन र बसिर अहमदले समान २८ रन बनाए।
लाइफका लागि योगेश कुमारले तीन तथा शुभम लाम्बा, हिमांशु र विपुल कम्बोजले समान एक विकेट लिए ।
दिनको दोश्रो खेलमा बंगलादेशको साइक क्रिकेटर्सले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई ४२ रनले हराउँदै सुखद सुरुआत गरेको छ ।
साइक क्रिकेटर्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको जावेद गोहर १८.२ ओभरमा १०५ रनमै समेटियो ।
जावेद गोहरका लागि अली हुसेनले सर्वाधिक ३४, जइम खानले १९ तथा शमुन इक्बालले १८ रन बनाए ।
साइक क्रिकेटर्सका लागि शहादत सोम्रतले तीन, रकिब र मुलेरले समान दुई तथा शाहबाज र एकेएसले समान विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साइक क्रिकेटर्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको योगफल तयार पारेको थियो ।
साइकको लागि मुलेरले सर्वाधिक ४६, मुनिम शाहरियरले २७, सौरबले २५ तथा रानाले १७ रन बनाए ।
जावेदका लागि रिशभ जोशीले सर्वाधिक तीन तथा कप्तान इमरान नाजिर र अब्बास अलिले समान विकेट लिए ।
प्रतियोगितामा सोमबार श्रीलंकाको टिम श्रीलंका स्टेट सर्भिस क्रिकेट एसोसिएसन र बंगलादेशको साइक क्रिकेटर्स तथा नेपालको नेक्सस रुपन्देही एघार र पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी प्रतिस्पर्धा गर्नेछन् ।