काठमाडौं । टेस्टर राष्ट्र पाकिस्तानका अलराउन्डर मोहम्मद हुसेन तलातले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।
कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेले हुसेनलाई अनुबन्ध गरेको जानकारी दिए । ‘एनपिएलका लागि कर्णाली याक्सले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसेन तलातलाई अनुबन्ध गरेको छ,’ घिमिरेले भने, ‘तलातको आगमनले टोली थप मजबुद बन्ने विश्वास लिएका छौं ।’
तलातले पाकिस्तानका लागि १८ ट्वान्टी-२० र एक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ । यसैगरी टोलीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेनेछ । लिगमा कर्णालीसँगै, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।