नेपाल सुपर लिग

विदेशी खेलाडीको रणनितिमा असफल रह्यौं: प्रशिक्षक श्रेष्ठ

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएपछि वीरगंज युनाइटेडका प्रशिक्षक सनोज श्रेष्ठले विदेशी खेलाडीको रणनितिमा असफल रहेको बताएका छन् ।

‘बटम टिमको फाइट थियो । पहिलो हाफमा तालमेल मिलेन । पोजेसन भएन । झापाले दवावमा राख्यो । दोस्रो हाफमा सुधार भयो । हुनुपर्ने गोल भएन ।  वान म्यान डाउन हुँदाको फाइदा उठाउन सकेनौं,’श्रेष्ठले भने,‘विदेशी खेलाडीको रणनितिमा असफल रह्यौं । उनीहरुको प्रदर्शन सोचे अनुसारको हुन सकेको छैन । मुख्य खेलाडी घाइते हुदा समस्या भयो । हामीले प्ले अफ खेल्न धेरै मिहेनत गर्नुपर्छ ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाएका आधा दर्जनभन्दा बढी अवसरको सदुपयोग गर्न नसक्दा दुवै टोलीले अंक बाँडेका थिए ।

यसैगरी झापाका प्रशिक्षक ओरिओल सेगुराले राम्रो प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा नआएको बताए ।

‘हामीले साच्चै राम्रो खेल खेल्यो । तर लगातारको खेलले सोचे अनुसारको प्रदर्शन भने हुन सकेको छैन । खेलाडीलाई पर्याप्त आराम चाहिन्छ । झापा एफसी फाइनल खेल्न खेल्न सक्छ तर नतिजा हाम्रो पक्षमा आइरहेको छैन । ड्रेसिङ रुमको माहोल राम्रो हुँदै गएको छ,’सेगुराले भने,‘क्लबमा सबैले राम्रो गर्न चाहन्छन् । युवा खेलाडीलाई मौका दिइरहेका छौं । हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं ।’