च्याम्पियन्स लिग

च्याम्पियन्स लिगः सिटीको सुखद सुरुआत

काठमाडौं । साबिक विजेता म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडविरुद्ध ३-१ को पुनरागमन जित निकाल्दै  च्याम्पियन्स लिगमा सुखद सुरुआत गरेको छ ।

जितसँगै  समूह ‘जी’ को सिटीले तीन अंक जोड्दा बेलग्रेडले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

सिटीको घरेलु मैदान इत्तिहाद रंगशालमा मंगलबार राति सम्पन्न खेलमा सिटीलाई जित दिलाउन जुलियन अल्भारेजले दुई र रोड्रीले एक गोल गरे । बेलग्रेडका लागि ओस्मान बुकारीले एक गोल गरे ।

खेलमा अग्रता लिएर पनि बेलग्रेडले त्यसलाई जोगाउन सकेन । खेलको ४५ औं मिनेटमा बुकारीको गोलमार्फत बेलग्रेडले अग्रता लिएको थियो ।

बेलग्रेडको त्यो अग्रता लामो समय टिक्न भने सकेन ४७ औं मिनेटमै अल्भारेजले सिटीलाई बराबरीका ल्याए । ६०औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अगाडी बढाए ।

१० मिनेटपछि रोड्रीले गोल गर्दै सिटीलाइृ ३-१ को जित दिलाए । सिटी आफ्नो प्रमुख खेलाडी जोन स्टोन्स, ज्याक ग्रेलिस, माटियो कोभासिच र केभिन डि ब्रुयनाविनै मैदान उत्रिएको थियो ।

रक्षक स्टोन्सले कम्युनिटी शिल्ड पछि खेलेका छैनन् । मिडफिल्डर ग्रेलिसले अन्तर्राष्ट्रिय ब्रेकअघि चोटको सामना गर्नु परेको थियो ।

मिडफिल्डर कोभासिच क्रोएसियाका लागि खेल्न क्रममा घाइते भएका थिए । सिजनको पहिलो प्रिमियर लिगमै चोटको समाना गरेका ब्रुयना कम्तीमा पनि चार महिना बाहिर रहने छन्।

यही समूहको अर्को खेलमा आरबी लाइपजिगले योंग ब्वाइजमाथि ३-१ कै जित निकालेको छ ।