काठमाडौं । युइएफइ युरोपियन च्याम्पियनसिप छनोटको समूह चरणमा मंगलबार बेल्जियम र इटाली विजयी भएका छन् ।
समूह ‘एफ’को बेल्जियमले इस्टोनियामाथि ५-० को फराकिलो जित निकाल्यो । बेल्जियमको जितमा कप्तान रोमेलु लुकाकुले दुई, जान भर्टोङ्गन, चार्ल्स डि केटेलेर र लिआन्ड्रो ट्रोसार्डले समान एक गोल गरे ।
घरेलु मैदान किंग बाउडोइन रंगशालमा खेलको चौथो मिनेटमै भर्टोङ्गनको गोलमार्फत बेल्जियमले अग्रता लिएको थियो । १८ औं मिनेटमा ट्रोसार्डले टोलीको अग्रता दोब्बर बनाए ।
५६ र ५८ औं मिनेटमा लुकाकुले गोल गर्दा बेल्जियम ४-० ले अगाडी बढ्यो । खेल सकिन दुई मिने बाँकी रहँदा डि केटेलेरले गोल गर्दै टोलीलाई ५-० को फराकिलो जित दिलाए ।
यही समूहको अर्को खेलमा अस्ट्रियाले स्विडेनविरुद्ध ३-१ को जित निकाल्यो । बेल्जियम पाँच खेलमा १३ अंक सहित शीर्ष स्थानमा छ। समान पाँच खेलमा १३ अंक नै रहेको अस्ट्रिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ।
यसैगरी समूह ‘सी’ को खेलमा इटालीले युक्रेनमाथि २-१ को रोमाञ्चक दार्ता गरेको थियो । घरेलु मैदान सान सिएरोमा इटालीलाई जित दिलाउन दुवै गोल डेभिड फ्राटेसी फ्राटेले गरे। युक्रेनका लागि एक गोल एन्ड्री यार्मोलेन्कोले गरे ।
खेलको १२औं मिनेटमा फ्राटेसीको गोलमार्फत इटालीले अग्रता लिएको थियो । २९ औं मिनेटमा फ्राटेसीले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
४१ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
यही समूहको अर्को खेलमा नर्थ म्यासेडोनियाले माल्टालाई २- ०पराजित गर्यो
यो समूहमा इंङ्ल्यान्ड पाँच खेलमा १३ अंक सहित शीर्ष स्थानमा छ। समान सात अंक भए पनि इटाली, युक्रेन र नर्थ म्यासेडोनिया गोल अन्तरको आधारमा दोस्रो देखि चौथो स्थानमा छन् । युक्रेनले इटाली र नर्थ म्यासेडोनिया भन्दा एक खेल कम खेलेको छ ।