दिनेश हेन्जन

अन्तर्राष्ट्रिय फुटबलमा दिनेशको डेब्यु

Dinesh henjan

काठमाडौं । त्रिभुवन आर्मी क्लबका फरवार्ड दिनेश हेन्जनले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् ।

नेपाल र म्यानमारबीचको दोस्रो फिफा मैत्रीपूर्ण खेलमा दिनेशले डेब्युको अवसर पाएका हुन् । नेपाल पराजित भएको खेलमा दिनेशले ८२ औं मिनेटमा आयुष घलानलाई प्रतिस्थापन गरेका थिए ।

नेपालले घरेलु टोली म्यानमारसँग १-० को पराजय भोगेको हो । थुउनन रंगशालामा सोमबार सम्पन्न खेलमा विन नाइङ्ग थुले गरेको एक मात्र गनेल म्यानमारलाई जित दिलाउन पर्याप्त बन्यो । थुले कप्तान एमजी एलविनको पासलाई सदुपयोग गरेका थिए ।

पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एलबर्टो एनेसले म्यानमारसँगको दुई भिडन्तमा तीन खेलाडीलाई डेब्युको अवसर दिए ।

यसअघि पहिलो खेलमा एनेसले दिनेशका आर्मी सहकर्मी जिलेस्पी जंग कार्कीलाई पहिलोपटक देशको प्रतिनिधित्व गर्ने अवसर दिएका थिए । त्यस्तै पहिलो खेलमै जावलाखेलका फरवार्ड हिसुब थपलियाले पनि डेब्यु गरेका थिए । जिलेस्पी पहिलो रोजाइमै खेलेका थिए भने हिसुबले दोस्रो हाफमा मौका पाएका थिए । जुन दोस्रो खेलमा पनि दोहोरियो ।

नेपालले अब अक्टोबर १२ र १७ गते लाओससँग फिफा विश्वकप छनोटको पहिलो चरणको खेल खेल्नेछ । पहिलो खेल १२ गते दशरथ रंगशाला र दोस्रो खेल १७ गते लाओसको घरेलु मैदानमा हुनेछ ।