यती एफसी

यती एफसीको नेतृत्वमा राना

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलबर्नमा रहेको नेपाली समुदायको क्लब यती एफसीले आगामी दुई वर्षे कार्यकालका लागि संस्थापकमध्येका एक कर्ण रानालाई नेतृत्वको जिम्मेवारी सुम्पिएको छ ।

मेलबर्नमा सम्पन्न साधारणसभाले रानाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको उपाध्यक्षमा निर्वाचित सज्जन शर्माले खेलाडी डटकमलाई जानकारी गराए ।

आइतबार सम्पन्न साधारणसभाबाट दुई उपाध्यक्षमा शर्मा र अनामिका राई गुरुङ निर्वाचित हुँदा कोषाध्यक्षको जिम्मेवारी विपस्ना लामाले पाएकी छिन् । यसैगरी सचिवमा रुक्सन राई, सहसचिवमा भरत राना तथा सदस्यमा इन्द्र गुरुङ, विषन गुरुङ, सुरुची श्रेष्ठ,लक्ष्मी गुरुङ र मोनिका महर्जन निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष राज शर्मा हुन भने बोर्ड अध्यक्षमा बम गुरुङ छन् ।

सन् २००१ मा मेलबर्नमा बसोबास गर्ने फुटबलप्रेमी युवाहरुले स्थापना गरेको क्लबले २०१५ मा ‘स्टेट फाइभ लिग’ खेलिसकेको थियो । ‘स्टेट फाइभ लिग’ अस्ट्रेलियाली फुटबल संरचनाको पहिलो खुट्किलो हो ।

स्थापनाकालदेखि नै फुटबलसँगै सामाजिक कृयाकलापमार्फत नेपाली समुदायलाई जोड्ने काममा सक्रिय रहँदै आएको क्लबले अहिले त्यहाँको सामुदायिक फुटबल ‘सन्डे लिग’ खेल्छ ।

अस्ट्रेलियाको आधिकारिक घरेलु फुटबल संरचनामा पुनः प्रवेशको लक्ष्य बनाएको टोलीले नेपालबाट राष्ट्रिय टोली तथा सहिद स्मारक ‘ए’ डिभिजन लिगका थुप्रै खेलाडी झिकाइसकेको छ । नेपाली खेलाडीलाई यती एफसीमार्फत अस्ट्रेलियाको लिग संरचनामा अवसर दिलाउने लक्ष्यमा निरन्तर अगाडि बढिरहने नवनिर्वाचित अध्यक्ष रानाले बताएका छन् ।


याे पनिः  नेपाली खेलाडीलाई माथिल्लो स्तरमा पुर्याउने यति एफसीको चाहना