काठमाडाैं । सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभजन क्लबहरुले आफूले पाउनुपर्ने रकम यथाशिघ्र उपलब्ध गराउन माग गद अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण गरेका छन् ।
तीन लिगका २६ क्लबहरुले बिहीबार एन्फा महासचिव किरण राईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
एन्फाले क्लबहरुलाई २०७७ / ७८ र २०७९ /८० लिगको रकम बुझाउन बाँकी छ ।
यसैगरी उनीहरुले फुटबलको मेरुदण्डको रूपमा रहेको लिगलाई आर्थिक प्राविधिक, भौतिक र व्यवस्थित रुपमा विकास गरी आर्थिक पारदर्शिता गरी आर्थिक स्रोतको ग्यारेन्टी गरेर मात्रै खेल सञ्चालन गर्नुपर्नेमा आश्वासनको भरमा खेल सञ्चालन गरेर खेल सम्पन्न भएको महिनौं बित्दा पनि पुरानो र नयाँ प्रतियोगिताको निम्नानुसार रकमहरु हालसम्म उपलब्ध नगराएको बताए ।
एन्फाले ‘ए’ डिभिजन क्लबहरुलाई २०७७ / ७८ को लिगमा ९७ लाख ५० हजार तथा २०७९ / ८० को लिगमा २ करोड ४५ लाख गरी कुल ३ करोड ४२ लाख ५० हजार रुपैयाँ चुक्ता गर्न बाँकी छ ।
यसैगरी ‘बी’ डिभिजन लिगका क्लबहरुलाई पनि एन्फाले २०७७/ ७८ को लिगमा ९१ लाख तथा २०७९ /८० को लिगमा ३५ लाख गरी (शीर्ष डिभिजनमा उक्लिएका चर्च ब्वाइज युनाइटेड र खुमलटार युथ क्लबको जोडेर) कुल १ करोड २६ लाख पनि भुक्तान गरेको छैन ।
‘सि’ डिभिजन क्लबहरुले पनि २०७७/ ७८ लिगको कूल ४० लाख ५० हजार पाएका छैनन् ।
‘ए’ डिभिजनका प्रत्येक क्लबले २०७७ / ७८ मा (मनाङ मर्स्याङदी क्लब बाहेक) ७ लाख ५० हजार र २०७९ / ८० मा १७ लाख ५० पाएका छैनन् । यसैगरी ‘बी’ डिभजनका प्रत्येक क्लबले ६ लाख ५० हजार र ‘सि’ डिभिजनमा प्रत्येक क्लबले ४ लाख ५० हजार पाउन बाँकी छ ।