काठमाडौं । इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा, इटालियन सिरी ‘ए’ र फ्रेन्च लिग वान युरोपका पाँच शीर्ष लिग हुन् । यसपालि पाँचमध्ये तीन लिगमा विजेता दोहोरिए ।
प्रिमियर लिग फेरि एकपल्ट म्यानचेस्टर सिटीले जित्यो । बुन्डेसलिगाको अन्तिम दिन बायर्न म्युनिखले बाजी मार्दा लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लेन्सभन्दा चार अंकले अघि रह्यो ।
पछिल्ला दुई सिजन मिलान सहरका दुई क्लब एसी मिलान र इन्टर मिलानले पालैपालो जितेको सिरी ‘ए’ मा यसपल्ट नापोली विजेता बन्यो । नापोली च्याम्पियन बन्दा इटालियन फुटबलले अचम्म मानेन ।
किनभने लिग सकिन दुई-तीन महिना बाँकी छँदै नापोली च्याम्पियन बन्दैछ भन्ने संकेत आइसकेको थियो । अखिरमा ३३ वर्षपछि लिग च्याम्पियन बनेको नापोली दोस्रो स्थानको लाजियोभन्दा १६ अंक माथि रह्यो ।
बार्सिलोना चार वर्षपछि ला लिगा विजेता बनेको हो । गत सिजन रियाल मड्रिडभन्दा १३ अंकले पछाडि परेको बार्सिलोनाले यसपालि शीर्षस्थानमा १० अंकको अग्रता कायम गर्यो ।
प्रिमियर लिग
यसपालिको प्रिमियर लिगमा आर्सनल सबैभन्दा धेरै दिन शीर्षस्थानमा रह्यो । मार्चको मध्यसम्म पनि आर्सनलले सिटीमाथि आठ अंकको अग्रता कायम गरेको थियो । तर आखिरमा सिटी नै च्याम्पियन बन्यो । त्यो पनि दुई खेल अगाबै ।
सिटी पेप ग्वार्डिओलाको प्रशिक्षणमा पाँचौं पटक लिग च्याम्पियन बनेको हो । सन् २०१७/१८ देखि २०२२/२३ बीचमा सिटी जम्मा एक पटक मात्र लिग जित्नबाट वञ्चित भएको छ । सन् २०१९/२० मा लिभरपुलले पछि पारे पनि सिटीले त्यसपछि लगातार तीन पटक लिग जितेको हो ।
ग्वार्डिओला सन् २०१६ मा सिटीको प्रशिक्षक बनेका हुन । त्यसयता उनले सिटीलाई १२ उपाधि जिताइसकेका छन् । सन् २००८ मा आबुधाबीको शाही परिवारका सदस्य शेख मन्सुर बिन जायद अल नायनले स्वामित्व लिएपछि सिटीले सात पटक प्रिमियर लिग जितेको छ ।
सिटीले यसपालि सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडको कीर्तिमान पनि बराबरी गर्नसक्छ । त्यो कीर्तिमान हो, एकै सिजन तीन उपाधि । सन् १९९९ मा युनाइटेडले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेर यस्तो कीर्तिमान राखेको थियो । यो सिजन सिटी त्यही कीर्तिमानको संघारमा छ । आउँदो जुन ३ मा एएफए कप र जुन ११ मा च्याम्पियन्स लिग फाइनल जिते सिटी ट्रेबलधारी बन्नेछ ।
सिटी यसपालि यति बलशाली बन्नुमा एर्लिङ हालान्डको योगदान ठूलो छ । जो एक वर्षअघि मात्र जर्मनीबाट इङ्ल्यान्ड पुगेका हुन् । हालान्ड सिटीमा फिट हुँदैनन्, धेरैले यसो भने । यसो भनिनुको कारण थियो, हालान्डको फरक खेल शैली ।
तर हालान्डलाई सिटीमा अभ्यस्त हुन कुनै कुराले रोकेन । प्रिमियर लिगमा हालान्ड मानवरुपी डोजरका रुपमा प्रस्तुत भए, हरेक कीर्तिमान भत्काए, नयाँ बनाए । प्रिमियर लिगमा एकै सिजन सर्वाधिक ३६ गोल गरेको कीर्तिमान अब उनको नाममा सरेको छ । पहिले यो तथ्यांकमाथि एलान सिएरर र एन्डी कोलको अधिकार थियो ।
प्रिमियर लिगको ३६ सहित कुल ५२ गोल गरेका हालान्ड अर्को कीर्तिमान बराबरी गर्नेतर्फ लम्किएका थिए । यो कीर्तिमान हो, इङ्लिस क्लबका लागि सबैखाले प्रतियोगितामा गरी सबैभन्दा बढी गोल गर्ने । यस्तो कीर्तिमान एभर्टनका डिक्सी डिनले सन् १९२७/२८ मा टोलीका लागि ६३ गोल गरेर राखेका थिए । हालान्डले ५२ गोल गरेका छन् । अब यो सिजन उनले दुई खेल मात्र खेल्न पाउने भएकाले कीर्तिमानमा बराबरी हुने सम्भावना न्यून छ ।
यो सिजन उनको चर्चा फगत प्रिमियर लिगमा मात्र भएन । बरु च्याम्पियन्स लिगमा उनले गरेको प्रदर्शनले सबैको ध्यान तान्यो । मार्चमा आरबी लाइपजिगविरुद्धको खेलमा उनले पाँच गोल गरे । यसअघि च्याम्पियन्स लिगको एक खेलमा पाँच गोल गर्ने कीर्तिमान लुइज एड्रियानो र लियोनेल मेसीको नाममा थियो ।
च्याम्पियन्स लिगमा ३० गोल पूरा गर्ने कान्छा खेलाडी पनि अब हालान्ड नै हुन् । उनको नाममा २५ खेलमा ३३ गोल छ । लाइपजिगसँगको खेलमा पाँच गोल गरेपछि उनले सिटीका लागि एक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा सारे । यसअघि यो कीर्तिमान टोम्मी जोन्सनको नाममा थियो ।
ला लिगा
यो सिजन ग्वार्डिओला मात्र लिग विजेता भएनन्, उनको पूर्वक्लब बार्सिलोनाले पनि उपाधि उचाल्यो । चार वर्षपछि स्पेनी फुटबलको चुचुरोमा फर्किएको बार्सिलोना लागि यो २७ औं लिग उपाधि हो । आफ्नो ३४ औं खेलमा स्पान्योललाई ४-२ ले हराएसँगै बार्सिलोना नयाँ च्याम्पियन बन्ने पक्का भएको थियो ।
क्याम्प नोउमा बार्सिलोनाले सहरी प्रतिद्वन्द्वी स्पान्योललाई हराउँदा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेका थिए । पोल्यान्डका यी ३४ वर्षीय स्ट्राइकरले ला लिगामा ‘डेब्यु’ गरेको सिजन नै ३३ गोल गरे ।
बार्सिलोनाका लागि यो सफलता धेरै अर्थमा विशेष हो । एक त पूर्वखेलाडी जाभी हर्नान्डेजले बार्सिलोनालाई च्याम्पियन बनाएका हुन् । फेरि यो उपाधि यस्तो बेला क्याम्प नोउ भित्रिएको छ, जतिबेला क्लब आर्थिक संकटमा छ । लिग नजितेको भए, बार्सिलोनाको समस्या गहिरिने थियो ।
बार्सिलोनाको परिचय हो, सुन्दर फुटबल खेल्ने टिम । विगतमा आक्रामक फुटबल खेलेरै बार्सिलोनाले लिग जितेको इतिहास छ । तर यसपालि जाभीले अग्रपंक्तिमा भन्दा रक्षापंक्तिमा ध्यान दिए ।
नोभेम्बर, २०२१ मा बार्सिलोनाको प्रशिक्षक बन्दा जाभीले भनेका थिए, ‘म बार्सिलोनाको खेल शैली परिवर्तन गर्ने पक्षमा छैन ।’ तर उनको टिमले वाचा गरे अनुसारको फुटबल खेलेन । हरेक जितपछि उनले आफ्नो रणनीति र खेलाडीले गरेको प्रदर्शनको बचाउ गर्नु परिरह्यो । बार्सिलोनालाई जितको लयमा फर्काउन जरुरी थियो । र यसका लागि रक्षापंक्तिमा ध्यान नदिई हुँदैन थियो । जाभीले जे गर्नुपर्ने थियो त्यही गरे ।
‘हामीले बार्सिलोना मोडललाई धोका दिएका छैनौँ । हो, म कतिपय अवस्थामा खेलप्रति सन्तुष्ट हुन सक्दिनँ । किनभने हामीले पर्याप्त बल पोसेसन राख्न सकिरहेका हुँदैनौं । तर परिस्थिति अनुसारको रणनीति बनाउनै पर्छ । फेरि डिफेन्ड गर्नु पनि त खेलकै हिस्सा हो नि,’ सान्टियागो बेर्नाबेउमा रियाललाई १-० ले हराएपछि जाभीले भनेका थिए । यो खेलमा रियालले ६५ प्रतिशत बल पोसेसन राखेको थियो ।
विगतमाभन्दा रक्षात्मक खेले पनि बार्सिलोना गोल गर्ने मामलामा उच्च गोलकर्ता टिम रियालभन्दा धेरै पछाडि थिएन । रियलाले ७४ गोल गर्दा बार्सिलोनाको नाममा ६९ गोल रह्यो । बलियो रक्षापंक्तिको कमाल भन्नुपर्छ, बार्सिलोनाविरुद्ध विपक्षी टिमले जम्मा १८ गोल मात्र गर्न सके । योभन्दा अचम्मलाग्दो तथ्यांक पनि छ । त्यो हो, बार्सिलोनाले घरेलु मैदानमा दुई गोल मात्र खायो ।
पछिल्लो पटक च्याम्पियन बन्दा बार्सिलोनालाई लियोनेल मेसी र लुइस स्वारेजको साथ थियो । तर बार्सिलोना आर्थिक संकटमा फसेपछि दुवै खेलाडी बाहिरिए । वित्तीय अनुशासन सम्बन्धी नियम एफएफपी कडाइका साथ पालना गर्नुपर्ने भएपछि बार्सिलोना मेसीलाई भनेजति तलब दिएर नयाँ सम्झौता गर्न नसक्ने स्थितिमा पुगेको थियो ।
स्थापित खेलाडी अनुबन्ध गर्न नसकिने भएपछि जाभीले क्लबकै एकेडेमीबाट आएका खेलाडीमा भरपर्ने निर्णय लिए । जस्तै गाभी र पेड्री । अनि लेवान्डोवस्की, युल्स कौन्डे र राफिन्हा जस्ता खेलाडीलाई मध्यम स्थान्तरण रकम तिरेर भित्र्याए । कप्तान सर्जियो बुस्क्वेट्स, जोर्डी अल्बा र टेर स्टेगन जस्ता पुराना खेलाडी त छँदै थिए ।
युवा, पुराना र अनुबन्ध गरिएका खेलाडीको समिश्रणका कारण बार्सिलोना बलियो बन्यो । रियाललाई हराउँदै स्पेनिस सुपर कप जित्यो । जाभीले बार्सिलोनालाई जिताएको यो पहिलो उपाधि थियो । त्यसपछि जाभीले आफ्नो झोलामा ला लिगा उपाधि पनि थपे ।
बुन्डेसलिगा
बायर्न म्युनिख यो सिजन भाग्यमानी ठहरियो । बुन्डेसलिगामा अन्तिम चरणको खेल सुरु हुनै लाग्दा थोरैले मात्र सोचेको हुनुपर्छ, यसपालि बायर्नले लिग जित्छ भनेर । किनभने बायर्नको प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्ड आफ्नो खेल जिते च्याम्पियन बन्ने स्थितिमा थियो । मेन्जलाई हराए बोरुसिया डर्टमन्ड नयाँ च्याम्पियन, बायर्नको नतिजा जे सुकै होस, परिदृश्य यही थियो ।
घरेलु रंगशाला सिग्नल इडुना पार्कमा डर्टमन्ड आधा घण्टा नबित्दै दुई गोलले पछि पर्यो । पेनाल्टी समेत खेर फाल्यो । निर्धारित समय सकिएपछि डर्टमन्डले बराबरी गोल त फर्कायो तर उसले बुन्डेसलिगा उपाधि बायर्नको पोल्टामा जानबाट रोक्न सकेन ।
किनभने उता बायर्नले त्यहीबेला एफसी कोलोनलाई २-१ ले हराइसकेको थियो । आखिरमा बायर्न र डर्टमन्डको अंक बराबर भयो । गोल अन्तरमा बायर्न च्याम्पियन बन्यो । बायर्न लगातार ११ औं पटक बुन्डेसलिगा जित्न सफल भएको हो ।
सन् २०१२ पछि पहिलो पटक लिग जित्ने संघारमा रहेको डर्टमन्डलाई अरु कसैले नभएर आफ्नै पूर्वप्रशिक्षक थोमस टचेलले रोके । जो युलियान नागेल्सम्यानलाई प्रतिस्थापन गर्दै बायर्नको प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा बायर्नले कुल नौ खेल खेल्यो, ६ मा जित हात पार्यो ।
बुन्डेसलिगाको शीर्ष चारमा अरु दुई स्थान आरबी लाइपजिग र युनियन बर्लिनले कब्जा गरे । यी दुईले बायर्न र डर्टमन्डसँगै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने छन् । १८ क्लबले प्रतिस्पर्धा गर्ने बुन्डेसलिगाबाट हेर्था बर्लिन र साल्का रेलिगेट भए ।
स्टुटगार्टले रेलिगेसन प्लेअफ खेल्नेछ । दोस्रो श्रेणीको बुन्डेसलिगा-२ मा तेस्रो भएको ह्याम्बर्गसँगको प्लेअफ जिते मात्र स्टुटगार्ट रेलिगेसनबाट बच्नेछ । साल्का, हेर्था र स्टुटगार्ट जर्मन लिग जितिसकेका क्लब हुन् । बुन्डेसलिगामा उक्लिएका हेइडेनहेइम र डाम्र्सडाट भने पहिलो पटक शीर्ष श्रेणी खेल्न लागेका हुन् ।
बायर्नले अचम्म लाग्दो ढंगमा बुन्डेसलिगा जितेकै दिन केही अप्रिय खबर पनि आए । खबर थियो, ओलिभर काहान र हसन सलिहामडिजिकको बर्खास्ती । काहान प्रमुख कार्यकारी अधिकृत र सलिहामडिजिक निर्देशकको पदमा थिए । लामो समय बायर्नबाट खेलेका यी दुई प्रशासकीय भूमिकामा खरो उत्रन नसकेको बायर्नको निस्कर्ष रह्यो । खेलाडी खरिद बिक्रीदेखि दैनिक प्रशासनिक कामको जिम्मा पाएका यी दुईले लेवान्डोवस्कीलाई क्लबमा राख्न सकेनन् भने नागेल्सम्यानको बर्खास्ती पनि विवादरहित रहेन ।
सिरी ‘ए’
नयाँ सिजनको सुरुआतमा नापोलीले लिग जित्ला भन्ने विश्वास सायदै कसैले गरेका थिए । गएका दुई सिजन लिग जितेका मिलान र इन्टरसँगै युभेन्टसलाई नै उपाधि दाबेदार मानिएको थियो । तर अन्ततः नापोली ३३ वर्षपछि सिरी ‘ए’ विजेता बन्यो । मिलान चौथो र इन्टर तेस्रो भए । युभेन्टस त सातौं स्थानमा सीमित भयो । युभेन्टस शीर्ष चारमा पनि नपर्नुको मुख्य कारण अंक कटौती थियो ।
गत सिजन तेस्रो भएको नापोलीलाई यसपालि कमजोर मानिएको थियो । कारण ? कप्तान लोरेन्जो इन्सिन्या, सर्वकालिन उच्च गोलकर्ता द्रिइस मर्टिन्स, अर्काडिउस मिलिभ, फाबियान रुइज र कालिडौ कौलिबालीको बर्हिगमन ।
तर यी खेलाडीलाई प्रतिस्थापन गरेका नयाँ अनुहारहरु लुसियानो स्पालेट्टीको प्रशिक्षणमा निखारिए । भनेजस्तो खेल देखाए । उदाहरणका लागि भिचा काभारसेलिया र मिन जाई किम । जर्जियाका भिचाले १२ गोल तथा १० गोलमा असिस्ट गरे भने दक्षिण कोरियाका किम सिरी ‘ए’ कै उत्कृष्ट रक्षक दरिए ।
नापोलीका लागि यो तेस्रो सिरी ‘ए’ उपाधि हो । यसअघि दुई पटक च्याम्पियन हुँदा नापोलीमा म्याराडोना केन्द्रमा थिए । यसपल्ट भने च्याम्पियन बन्न नापोली कुनै एक खेलाडीको भर परेन । गोलरक्षकदेखि स्ट्राइकरसम्म अब्बल देखिए ।
मिलान सहरका दुई क्लबको प्रदर्शनमा ह्रास आएकाले पनि नापोलीलाई लिग जित्न सजिलो भयो । रोमेलु लुकाकु नचल्दा इन्टर लाउटारो मार्टिनेजको भर पर्न बाध्य भयो । सिजनको सुरुमै उनी घाइते भएपछि इन्टर अप्ठ्यारोमा पर्यो । टिममा फर्किएपछि पनि उनको खेल सोचे अनुसारको हुन सकेन । बेलाबेला एडिन जेकोले गोल त गरे, तर सिरी ‘ए’ उपाधिका लागि प्रतिस्पर्धा गर्न पर्याप्त भएन ।
जनवरीमा लगातार पाँच खेलमा जितविहीन बनेपछि मिलान नापोलीभन्दा पछि पर्यो । खेलाडी किनबेचको हिसाबकिताब राम्रोसँग नराखेको आरोपमा युभेन्टस कारबाहीमा पर्यो । १५ अंक कटौती भएपछि युभेन्टसको मनोबल घट्यो । लाजियो केही हदसम्म लयमा देखियो । तर नापोलीलाई रोक्ने तागत माउरिजियो सारीको टिममा देखिएन ।
सिरी ‘ए’ बाट हेल्लास भेरोना, क्रेमोनेसे र साम्पडोरिया रेलिगेट भए । भेरोना सन् २०१९ मा सिरी ‘ए’ मा बढुवा भएको थियो । गत सिजन मात्र सिरी ‘ए’ मा फर्किएको क्रेमोनेसेसे एक सिजन मात्र शीर्ष श्रेणीमा टिक्न सक्यो । एक पटक सिरी ‘ए’ जितेका साम्पडोरिया भने लगातार १० सिजन सिरी ‘ए’ मा थियो ।
फ्रेन्च लिग वान
पिएसजी ११ औं पटक फ्रेन्च लिग वान विजेता बनेको हो । अब पिएसजीको नाममा सर्वाधिक फ्रेन्च लिग जितेको कीर्तिमान दर्ज भएको छ । यसअघि पिएसजीसँगै मार्से र सेन्ट एटियन सबैभन्दा धेरै लिग जित्ने (१० पटक) टिम थिए ।
गत सिजन जस्तै यसपल्ट पनि पिएसजीको मुख्य खेलाडी किलियान एम्बाप्पे नै रहे । उनले २८ गोल गरे भने लियोनेल मेसी र नेयमारको नाममा क्रमशः १६ र १३ गोल रह्यो । सर्वाधिक असिस्ट भने मेसीले गरेका थिए । उनले १६ गोलका लागि पास उपलब्ध गराए ।
लिग जिते पनि पिएसजी ठिकठाक हालतमा छैन । किनभने एम्बाप्पेको पिएसजी भविष्य अन्योलमा छ । उनी र पिएसजीबीच सन् २०२४ सम्मका लागि सम्झौता छ । उनले थप एक वर्षका लागि सम्झौता अवधि बढाउन सक्छन् । तर यसबारे उनले मुख खोलेका छैनन् । यसकारण उनी फेरि एकपल्ट स्थान्तरणको माग राख्छन् कि भन्ने संशय छ ।
पिएसजी यसपालि पनि च्याम्पियन्स लिग जित्न असफल भयो । जबकि मेसीलाई यही लक्ष्य पूरा गर्न अनुबन्ध गरिएको थियो । च्याम्पियन्स लिग मात्र होइन पिएसजीले घरेलु कप नै जित्न सकेन । अर्को सिजन मेसी पिएसजीमा हुने छैनन् । उनको पिएसजीसँगको दुई वर्षको सम्झौता सकिँदैछ । सम्झौता अर्को वर्षका लागि तन्काउने विकल्पमा नजाने पिएसजीले स्पष्ट पारिसकेको छ ।
उता नेयमारको पनि पिएसजीमा रहने टुंगो छैन । यो सिजन २० खेल मात्र खेल्न सकेका नेयमार प्रिमियर लिगका क्लबसँग जोडिँदै छन् ।
सन् २०११ मा पिएसजीको स्वामित्व लिएको कतारले खेलाडी बजारमा एक अर्ब युरोभन्दा बढी खर्च गरिसक्यो । तर पनि पिएसजी युरोपेली क्लब फुटबलको शक्ति बन्न सकेको छैन । च्याम्पियन्स लिगका पछिल्ला सात संस्करणमध्ये पाँचमा अन्तिम १६ बाटै बाहिरिएको पिएसजी फेरि एकपटक टिम पुनः निर्माणको चरणमा पुगेको छ ।
खेलाडी बजारमा लगातार खराब निर्णय गर्ने क्लबको परिचय बनाएको पिएसजी टिमका रुपमा पनि एक छैन । एम्बाप्पे, नेयमार र मेसीबीच बलियो साझेदारी स्थापित नहुनु यसको प्रमाण हो । मिडफिल्डमा चलायमान हुने भरोसा गरिएका मार्को भेराटी र गोलरक्षक जियानलुइजी डोनारुमा लगभग फ्लप साबित हुँदा पिएसजी स्थिर टिम बन्न सकेन ।
प्रशिक्षक परिवर्तन पिएसजीको अर्को खराब बानी हो । सन् २०१३ मा कार्लो एन्सिलोट्टी बर्खास्तीमा परेपछि पिएसजीमा प्रशिक्षक आउने र जाने सिलसिला रोकिएको छैन । लाउरेन्ट ब्लान्क, युनाई एम्री, थोमस टुचल र माउरिसियो पोचेटिनोपछि पिएसजीमा क्रिस्टोपर गाल्टियर प्रशिक्षक बनेका हुन् । गाल्टियरको पनि भविष्य सुरक्षित छैन ।
मैदानको खराब प्रर्दशनका कारण पिएसजी समर्थकलाई यो सिजन पटक पटक आन्दोलित गरायो । समर्थकले मेसी र नेयमारविरुद्ध नारा नै लगाए । कतिसम्म भने नेयमारको घरअघि जम्मा भएर पिएसजी समर्थकले ब्राजिलियन फरवार्डलाई पेरिस छाड्न उर्दी नै जारी गरे ।
पिएसजी बसाइ सकिनै लाग्दा मेसी पनि विवादित बने । आफ्नो अनुमतिबिना साउदी अरब गएको भन्दै पिएसजीले मेसीलाई केही दिन अभ्यासमै सामेल हुन दिएन । यही यात्राका कारण मेसीको सम्झौता अवधि नथपिएको भन्ने आशंका पनि छ । तर प्रशिक्षक गाल्टियरले यस्तो दाबी इन्कार गरेका छन् ।