सहिद स्मारक ए डिभिजन लिग

मनाङलाई पुलिसको चुनौती

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज नेपाल पुलिस क्लबको सामना गर्दा मनाङ मस्र्याङदी क्लब अपराजित लय कायम राख्ने लक्ष्यमा हुनेछ । 

लिगको सुरुआती ७ खेलमा अपराजित रहेको मनाङ त्यसपछिको ६ खेलमा भने लगातार पराजित भएको थियो । कीर्तिमानी आठ पटकको लिग विजेता मनाङ लिगमा लगातार ६ खेलमा पराजित भएको यो पहिलो पटक थियो । 

दोस्रो चरणको दुई खेल समाप्तीमा भने मनाङ अपराजित रहेको छ । दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० ले हराएको मनाङ शनिबार दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । 

मनाङ १५ खेलमा १९ अंकसहित आठौं स्थानमा छ । पुलिस क्लब भने समान खेलमा समान १५ अंकसहित अन्तिम स्थानमा छ । पुलिस पछिल्लो खेलमा हिमालयन शेर्पा क्लबसँग २-१ ले निराश भएको थियो ।

यी दुई टोलीबीचको खेल दिउँस ३ बजे एन्फा मुख्यालय सातदोबाटोमा हुनेछ । 

आजै च्यासल फुटबल मैदानमा हुने खेलमा फ्रेन्ड्स क्लबले एफसी खुमलटारको सामना गर्नेछ । दुवै टोली स्पष्ट ३ अंकसहित रेलिगेशन क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा हुनेछन ।

खुमलटार१५ खेलमा १७ अंकसहित १२औं स्थानमा छ भने १३औं स्थानको फ्रेन्डसको समान खेलमा १६ अंक छ ।