इङ्लिस प्रिमियर लिग

युनाइटेडमाथि ब्राइटनको जित

लन्डन । एलेक्सिस म्याक एलिस्टरको गोलमा म्यानचेस्टर युनाइटेडमाथि १-० को जितसहित ब्राइटन बिहीबार इङ्लिस प्रिमियर लिगको छैटौं स्थानमा उक्लिएको छ । 

इन्जुरी समयको नवौं मिनेटमा म्याक एलिस्टरले पेनाल्टीको सदुपयोग गरेका थिए । भिडियो सहायक रेफ्र (भिएआर) लुक सले पेनाल्टी बक्समा ह्यान्ड गरेको देखाएपछि ब्राइटनले पेनल्टीको अवसर पाएको थियो । 

ब्राइटन ३२ खेलमा ५५ अंकसहित छैटौं स्थानमा छ । युनइटेड भने ३३ खेलमा ६९ अंकसहित चौथो स्थानमा छ । पाँचौ स्थानको लिभरपुलभन्दा ब्राइटन ४ अंकले पछि छ । 

यस जितसँगै ब्राइटनले ११ दिन अघि एफए कपको सेमिफाइनलमा युनाइटेडसँग व्यहोरेको हारको समेत बदला लिएको छ । 

ब्राइटनले जोडेको ५५ अंक प्रिमियर लिगमा क्लबले अहिलेसम्म जोडेको सर्वाधिक अंक हो । यसअघि टोलीले १९८१–८२ सिजनमा ५२ अंक जोडेको थियो ।