गौरीगङ्गा गोल्डकप

फोर ब्रदर्स च्याम्पियन

काठमाडौं । कैलालीको स्टार सिटी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै नवलपरासीको फोर ब्रदर्स क्लब तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बिहिबार भएको फाइनलको निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टी सुआउटमा फोर ब्रदर्सका लागि सुदीप केसी, आशिष ज्ञवाली, मिसन दर्लामी, मनोज श्रेष्ठ र हरि बुढामगरले गोल गरे । स्टार सिटीका लागि युवराज ढकाल, माधव भण्डारी, कुशल देउवा, किरण बोहराले गोल गर्दा विक्रम लामा चुके ।

खेलको ७१ औं मिनेटमा कमल देउवाले स्टार सिटीलाई अग्रता दिलाएका थिए । ८७ औं औँ मिनेटमा दोमादर थापाले गोल गर्दै फोर ब्रदर्सलाई बराबरीमा ल्याए ।

कैलालीको गौरीगंगा-११ स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिताको विजेता फोर ब्रदर्सले ट्रफी सहित नगद ४ लाख प्राप्त गरेको छ । उपविजेता स्टार सिटीले ट्रफी सहित नगद २ लाखमा रुपैयाँ पायो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी फोर ब्रदर्सका दामोदर थापा भए । उनले नगद ५० हजार प्राप्त गरे ।

यर्सगरी  विजेता फोर ब्रदर्सका विनोद केवट सर्वाधिक गोलकर्ता, हरि बुढा मगर उत्कृष्ट गोलकिपर, स्टार सिटीका विष्णु चौधरी  उत्कृष्ट रक्षक, गौरीगङगा-११ स्पोर्टस क्लबका नीराजन धामी उदियमान खेलाडी तथा फोर ब्रदर्सका धर्मराज भुसाल उत्कृष्ट प्रशिक्षक  चुनिए । उनीहरूले जनही नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

चैत २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।